नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भावनात्मक र तथ्यविहीन विरोध भइरहेको भन्दै असहमति जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरेका हुन्।
उनले छिमेकी मुलुकहरूको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि दाबी गरे।
उनले नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने स्पष्ट पारे। नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उनको टिप्पणी छ।
उनले भने, ‘म के कुरामा सहमत छैन भने एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दाखेरी अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ। म त यसको कुनै तात्विक अर्थ नै देख्दिनँ। अहिलेसम्म बसिसके र नेपाल कोलोनाइज भइसकेको हुनपर्ने। खोइ त कहाँ छ स्टेसन? त्यो वनको बाधले भन्दा पनि मनको बाघले मन खाइरहेको म देख्छु। अमेरिकाले नेपाललाई घेरा हालिहरेको छ। हामी जोगाउन भनेर हिँडेका छौं। के हामीले जोगाएर चीन जोगिने हो?’
नेपालजस्तो विकासोन्मुख मुलुकलाई दातृ निकाय वा साझेदार राष्ट्रहरूसँग सहयोगले कुटनीतिक सम्बन्ध बलियो हुँदै जाने स्पष्ट गर्दै त्यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया