समाजवादी मोर्चा, नेपालले नेपाली भूमी लिपुलेकमा भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाएको छ।
समाजवादी मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले संयुक्त प्रेस वक्तव्य प्रकाशित गरी दुई छिमेकीको कदमको विरोध गरेका हुन्।
‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी गर्दछ। नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ’ वक्तव्यमा भनिएको छ, ‘यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन्। यसैबीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भिर आघात पुगेको छ।’
माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र समाजवादी दलका अध्यक्ष महिन्द्र राय यादवद्वारा जारी वक्तव्यमा नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुयाउने यस प्रकारको सहमतिप्रति घोर विरोध तथा असहमति प्रकट गरिएको छ।
साथै, सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान पनि गरिएको छ।
भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोपछि नेपालमा यसको तीब्र विरोध भएको छ भने सरकारले दुवै देशलाई कुटनीतिक नोट पठाएको छ।
Shares

प्रतिक्रिया