राजनीति


प्रधानमन्त्रीलाई ‘दुर्लभ अवसर’, बेइजिङले घोषणा गर्‍यो- ‘एससीओ प्लस’ शिखर सम्मेलनमा सहभागी हुँदैछन् ओली

सबैभन्दा ठूलो क्षेत्रीय संगठनमा नेपाल ‘डायलग पार्टनर’ मात्रै, २२ राष्ट्रका शीर्ष नेता सहभागी हुँदैछन्
प्रधानमन्त्रीलाई ‘दुर्लभ अवसर’, बेइजिङले घोषणा गर्‍यो- ‘एससीओ प्लस’ शिखर सम्मेलनमा सहभागी हुँदैछन् ओली

फाइल तस्बिर


सीताराम बराल
भदौ ६, २०८२ शुक्रबार १७:१९, काठमाडौँ

चिनियाँ महानगर तियान्जिनमा भदौ दोस्रो हप्ता हुने सांघाई कोअपरेसन संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने पक्का भएको छ। 

नेपाल ‘एससीओ’ मा ‘डायलग पार्टनर’ मात्रको हैसियतमा रहे पनि आफ्नो भूमिमा आयोजित सम्मेलनलाई चीनले ‘एससीओ प्लस’ शिखर सम्मेलनको रूप दिन चाहेपछि प्रधानमन्त्री ओली पनि सहभागी हुने टुंगो लागेको हो।

चिनियाँ विदेश मन्त्रालयले समेत एससीओ शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने घोषणा गरेको छ। बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उपविदेशमन्त्री लिउ बिनले यस्तो घोषणा गरेका हुन्।

एसिया र युरोपका २६ राष्ट्रको सहभागिता रहेको ‘एससीओ’ शिखर सम्मेलनमा यसअघि सदस्य १० राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरूको मात्र सहभागिता रहने गरेको थियो।

बाँकीमध्ये १४ मुलुक ‘डायलग पार्टनर’ का रुपमा एससीओमा आबद्ध छन्। सहभागिताका तीन तहमध्ये ‘डायलगको हैसियत एससीओमा सबैभन्दामुनिको हो।

डायलग पार्टनरको हैसियतको रुपमा रहेका मुलुकहरुमा नेपालका अलावा अजरबैजान, आर्मेनिया, क्याम्बोडिया, टर्की, श्रीलंका, इजिप्ट, साउदी अरेबिया, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स (युईए) छन्।

डायलग पार्टनरभन्दा माथि अब्जर्भरको हैसियत भएका दुई मुलुक छन्, मंगोलिया र अफगानिस्तान।

सबैभन्दा उपल्लो हैसियतमा रहेको ‘सदस्य’ राष्ट्रमा चीन, रुस र भारतका अलावा पाकिस्तान इरान, बेलारुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, बेलारुस छन्।

एससीओ शिखर सम्मेलनमा अब्जर्भर र डायलग पार्टनरको हैसियतमा रहेका मुलुकका शिखर सम्मेलनमा राष्ट्राध्यक्ष वा सरकार प्रमुखको तहबाट सहभागिता रहँदैनथ्यो। 

बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश उपमन्त्री लिउ विनले एससीओ शिखर सम्मेलनमा सहभागी हुने विश्व नेताहरूको विवरण सार्वजनिक गरेका छन्, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू छन्।

अगस्ट ३१ र सेप्टेम्बर १ मा हुने शिखर सम्मेलनमा सहभागिताका लागि निम्त्याइएका शीर्ष नेताहरूमा प्रधानमन्त्री ओलीका अलावा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्को,  काजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभ, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ छन्।

यसैगरी ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमान, उज्बेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ, मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेल्सुख, अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, कम्बोडियाका प्रधानमन्त्री हुन मानेत पनि सम्मेलनमा सहभागी हुनेछन्। 

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन, इजिप्टका प्रधानमन्त्री मोस्तफा मादबौली, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमोहामेदोभ, इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तो, लाओसका राष्ट्रपति थोङलोन सिसौलिथ, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र भियतनामका प्रधानमन्त्री फाम मिन चिन्हले पनि सम्मेलनमा सहभागिता जनाउनेछन्।  

सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय संगठन तथा बहुपक्षीय संयन्त्रका प्रमुखहरूलाई पनि निम्त्याएको छ। निम्त्याइएकामध्ये संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि सम्मेलनमा सहभागी हुनेछन्। 

यसैगरी एससीओ महासचिव नुर्लान यरमेकबायेभ, एससीओ क्षेत्रीय आतंकवाद–विरोधी संरचनाका कार्यकारी समितिका निर्देशक उलारबेक शार्शेएभ, स्वतन्त्र राष्ट्रमण्डलका महासचिव सेर्गेई लेबेदेभ, आसियान महासचिव काओ किम होर्न, सामूहिक सुरक्षा सन्धि संगठन (सीएटीओ) का महासचिव इमानगाली तास्मागाम्बेतोभ, आर्थिक सहयोग संगठन (इसीओ) का महासचिव असद खानले पनि शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।

एसियाली अन्तरक्रिया तथा विश्वास निर्माण उपाय सम्मेलन (सीआइसीए) का महासचिव कायरात सारिबे, युरेसियन आर्थिक आयोगका बोर्ड अध्यक्ष बाकितजान सागिन्तायेभ र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का अध्यक्ष जिन लिक्वुन पनि सहभागी हुनेछन्।

आयोजक राष्ट्रका राष्ट्राध्यक्षका हैसियतमा शिखर सम्मेलनको अध्यक्षता चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्। दुई दिनसम्म चल्ने ‘एससीओ प्लस’ शिखर सम्मेलनलाई अध्यक्षता र सम्बोधन गर्नेछन्।

विश्वका २२ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने भएकाले चीनले यसपटकको शिखर सम्मेलनलाई आफ्नो मुलुकमा आयोजित यस वर्षको सबैभन्दा महत्वपूर्ण घरेलु कूटनीतिक कार्यक्रममध्येको एक हुने उल्लेख गरेको छ। 

जानकारी अनुसार, यो शिखर सम्मेलनले आगामी १० वर्षको लागि एससीओको विकास रणनीति पारित गर्नेछ। 

‘डायलग पार्टनर’ को हैसियतमा मात्र रहेकाले एससीओ शिखर सम्मेलनमा नेपालको सहभागिता सामान्य स्तरमा हुने गरेको थियो। अक्सर बेइजिङस्थित नेपाली राजदूतको तहबाट सम्मेलनमा नेपालको प्रतिनिधित्व हुने गर्थ्यो।  

प्रत्येक वर्ष सदस्य राष्ट्रले आयोजना गर्ने ‘एससीओ’ को शिखर सम्मेलनलाई यसपटक चीनले ‘एससीओ प्लस शिखर सम्मेलन’ का रुपमा आयोजना गर्ने निर्णय गरेपछि विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठनको शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुने दुर्लभ अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त भएको हो।

सीमा वार्ताका क्रममा हालसालै भारत–चीनबीच नेपाली भूमि लिपलेकबाट द्विपक्षीय व्यापार सुचारु गर्ने सहमति भएको थियो। सो सहमतिका कारण प्रधानमन्त्री ओली चीन भ्रमणका विषयमा संसय बढिरहेका बेला बेइजिङले पत्रकार सम्मेलनमार्फत् एससीओको तियान्जिन शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागिता पक्का गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad