राजनीति


सरकारलक्षित गगन थापाको टिप्पणी- संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन

सरकारलक्षित गगन थापाको टिप्पणी- संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन

नेपालखबर
भदौ ४, २०८२ बुधबार १५:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बहुमत छ भनेर जे पनि निर्णय गर्न नहुने बताएका छन्।

आज बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए त्यसलाई जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताएका हुन्।  

‘नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो। हामी निर्वाचन जित्छौँ, मत प्राप्त गर्छौँ, सरकार बनाउँछौँ। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन। संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ,' उनले भने, 'बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ। तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ। हामीले गर्ने निर्णय आमनागरिकले स्वीकार्छ कि स्वीकार्दैन त्यो हेर्नुपर्छ, त्यो बुझ्नुपर्छ।' 

थापाले मंगलबारको पार्टी पदाधिकारी बैठकमा पनि उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरणविपरीत काम गरेको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी त्यसको प्रक्रिया सुरु गरेकोप्रति आपत्ति जनाएका थिए। 

मंगलबार देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक डाकेर उपसभामुखलाई हटाउने विषयमा छलफल गरेका थिए। 

यो बैठकमा पनि थापाले भनेका थिए, 'बहुमत छ, दुई तिहाइ पुग्छ भनेर निर्णय गरिएला। बैधानिकता पनि पाउला तर जनताले यसलाई स्वीकार्छन् कि स्वीकार्दैनन्। यसमा ध्यान दिनुपर्छ।' 

कांग्रेस र एमालेले आफ्ना सांसदले उपसभामुखलाई हटाउनकै लागि भन्दै खाली कागजमा हस्ताक्षरसमेत गराइसकेका छन्। कांग्रेसको इतर (शेखर कोइराला)समूहले यसमा आपत्ति जनाउँदै हस्ताक्षर गरेको छैन।  

नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालनमा सहयोग पुगोस् भनेर बनाइएको राजनीतिक संयन्त्रमा पनि छन् थापा। तर पछिल्लो समय संयन्त्रको बैठकमा थापा उपस्थित हुन छाडेका छन्। 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा पनि थापा सहभागी थिएनन्। बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकमात्रै सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad