राजनीति


महिलामन्त्रीको प्रस्तावः अब सामाजिक सुरक्षा भत्ता थेग्न सकिँदैन, गरिबलाई मात्रै दिऊँ

महिलामन्त्रीको प्रस्तावः अब सामाजिक सुरक्षा भत्ता थेग्न सकिँदैन, गरिबलाई मात्रै दिऊँ

नेपालखबर
भदौ ४, २०८२ बुधबार १४:५७, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन्।

बुधबार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।

उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने स्पष्ट पारे। उनले उच्च पदस्थ व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो? भन्दै प्रश्न समेत गरे। 

उनले भने, ‘नेपालमा २० प्रतिशत मानिस गरिबीको रेखा मुनी रहेको छ। सामाजिक सुरक्षा भत्ता पहिला उसले भेट्नुपर्ने। विनोद चौधरीको आमालाई, बुबालाई किन सामाजिक सुरक्षा? मेरो आमा, बुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता? सामाजिक सुरक्षाको बजेट हेर्नुहोस् त खराबमा छ। के नेपालले धान्न सक्ने हो? धान्न सक्ने आर्थिक स्थिति छ? खाली आफ्नो पार्टीको हकहितको लागी १ सय देखि सुरु भयो। मेरो पार्टी आयो २ सय, तपाईंको पार्टी आयो ५ सय, अर्को पार्टी आयो १ हजार, अर्को आयो ४ हजार। नेपालको आर्थिक स्थितिले यो धान्न सक्दैन, सक्दैन, सक्दैन।’

विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनको भनाई छ। नेपालमा भने राजनीतिक दलहरूले आफ्नो फाइदाको लागि समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिष्पर्धा गर्ने गरेको उनले बताए। 

उनले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने स्पष्ट पारे।
 
मन्त्री सुडीले थपे, ‘छिमेकी देश भारतमा विश्वमा तेस्रो आर्थिक समृद्धिमा आइराखेको छ। उसले ५ सय रुपैयाँ दिन्छ, सामाजिक सुरक्षामा। तर म रुपैयाँ घटाउन भन्दिन, ४ हजार रुपैयाँ दिनुहुन्छ भने ६ हजार दिनुस्। तर २० प्रतिशत जो गरिबीमुनी छ, त्यसलाई दिनुस्।’

उनले नेपाल सरकारको बजेट र आर्थिक स्थितिले सामाजिक सुरक्षा धान्न मुस्किल पर्ने स्पष्ट पारे। 

हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाती, बाल पोषण भत्ता लगायतका शिर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad