जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कतिपय घटना रहस्यम तरिकाले हुने गरेको बताएका छन्।
२०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरमको आक्रमणबाट २७ जना माओवादी कार्यकर्ता मारिएको प्रशंगमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गएको सोमबार परमादेश जारी गरेको थियो।
गौर हत्याकाण्डमा आफूविरुद्धसमेत मुद्दा चल्ने चर्चाकाबीच यादवले दरबार हत्याकाण्ड र दारढुंगा हत्याकाण्ड कसले गरायो भन्ने प्रश्न गरेका हुन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले नेपालका कतिपय घटना रहस्यमय तरिकाले भएको बताए। उनले भने, ‘दरबार हत्याकाण्ड, दासढुंगा हत्याकाण्ड कसले गरायो? भन्ने प्रश्न अझै अनुत्तरित छ।’
अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने तर्क पनि उनले गरे। १८ वर्षअघि भएको गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी उनकाे छ। यादवले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे।
‘एउटा मात्रै होइन, चार-चार वटा संस्थाले त्यो घटनाको अनुसन्धान गरेका छन्,’ यादवले भने, ‘राष्ट्रसंघीय संस्थाहरूलेसमेत अनुसन्धान गरेर प्रतिवेदन दिएका छन्।’
यादवले उक्त घटनाको ओएचसीआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको तर्क गरे।
Shares

प्रतिक्रिया