उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई अमेरिकाबाट फोन सम्पर्क गरेकी छन्।
उनले आफूलाई हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गराइरहेको विषयमा जिज्ञासा राखेको बताइन्।
‘मैले उहाँ (शेखर)लाई कल गरेको हो। प्रजातन्त्रका लागि लडेको पार्टीले केके भनिरहेको, यस्तो कुरा सुनिरहेको छु, के हो माननीयज्यू भनेर सोधेको हुँ। मैले चिन्छु उहाँलाई, उहाँले पनि मलाई चिन्नुहुन्छ। मेरो कामको बारेमा उहाँलाई थाहा छ नि त,’ नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बारम्बार यो कुरा भइरहेको छ। किन भनेर सोधेँ। उहाँले त्यही त, यस्तै भइरहेको छ, के गर्ने भन्नुभयो। हटाउने कुरामा मेरो कुनै समर्थन छैन भन्नुभयो।’
उनले आफूले अग्रज मानेर शेखरलाई यस विषयमा जानकारी लिन फोन गरेको बताइन्। ‘सोध्नुपर्यो नि, सिनियरहरूलाई’ उनले भनिन्।
सत्तारुढ दलले उपसभामुखको पदअनुकूल आचरण नगरेको भन्दै हटाउन खोजिरहेका छन्।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसहित सत्तारुढ राजनीतिक संयन्त्रको बैठकपछि दुई दल रानालाई हटाउने निष्कर्षमा पुगेका थिए। सोहीअनुसार दुवै दलले सांसदको हस्ताक्षर गरिरहेका छन्।
कांग्रेसइतर समूह (शेखर समूह)ले भने हस्ताक्षर गर्न अस्वीकार गरेको छ। गत वर्ष पनि उपसभामुख राना मगरलाई हटाउन कांग्रेस र एमालेले तयारी गर्दा नेता कोइरालाले विरोध गरेका थिए।
Shares

प्रतिक्रिया