नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको उपसभामुख पदबाट इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ दलको कसरतप्रति आपत्ति जनाएका छन्।
श्रेष्ठले उपसभामुख रानालाई पदबाट हटाउने प्रयोजनका लागि सतारुढ पार्टीहरू एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको बताएका हुन्।
सत्तारुढ दलले लोकतन्त्रको धज्जी उडाएको र अहिलेको कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभई संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका लागि आधार तयार पार्न गरिएको काम भएको उनको भनाइ छ।
'यसले लोकतन्त्रको धज्जी उडाएको छ। यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषदमा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ,' उनले भनेका छन्, 'यो र यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदैछ। दशकौ लामो बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहाने सबैले तात्कालिक निहीत स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनु पर्ने आवश्यकता छ।'
आज प्रतिपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भर्त्सना गर्दै यसलाई असफल पार्न सबैलाई आह्वान गरेको उनको भनाइ छ।
'यस सन्दर्भमा आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र ) को आयोजनामा भएको संसदमा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आव्हान गरेको छ' उनले भनेका छन्।
Shares

प्रतिक्रिया