कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच विराटनगरमा छुट्टाछुट्टै एक घण्टा बढी छलफल भएको छ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई विग होटलमा पुगेका थिए।
साँझ ८ बजेतिर मन्त्री सहित विग होटलमा भएका मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच करिब एक घण्टा वान टु वान भेटवार्ता भएको थियो।
त्यसअघि पूर्वराष्ट्रपति भण्डारी, मुख्यमन्त्री र मन्त्रीहरूबीच आधा घण्टा भेटवार्ता पछि मन्त्रीहरू फर्किएका थिए। त्यसपछि मुख्यमन्त्री वान टु वान छलफलमा बसेका थिए। बैठक भर्खर सकिएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच राजनीतिक, पार्टीका निर्णय तथा प्रदेश सरकारका गतिबिधिबारे छलफल भएको सचिवालयले जनाएको छ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीको निर्णय अनपेक्षित भएको बताएकी थिइन्। उनले पार्टी सदस्य मात्रै बन्न खोजेको तर त्यो पार्टीको निर्णय सोच्दै नसोचेको बताएकी थिएन्।
एमालेको राजनीतिमा सक्रिय हुन खोजेकी पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाटै सदस्यता नवीकरण नगर्ने निर्णय गराएका थिए।
भण्डारी आज दिनभर विराटनगरका विभिन्न कार्यक्रममा ब्यस्त थिइन्।
मंगलबार दिउँसो एमाले पार्टी कार्यालय पाञ्चालीमा कार्यकर्ता भेटघाट गरी पूर्वराष्ट्रपति भण्डारी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया