राजनीति


विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपतिलाई भेटेर रिहाइका लागि गुहार मागे

सरकारले हरसम्भव पहल गरिरहेको छ : प्रधानमन्त्री ओली
विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपतिलाई भेटेर रिहाइका लागि गुहार मागे

इजरायलमा रुँदै विपिनका आमा पद्‌मा जोशी र बहिनी पुष्पा


नेपालखबर
भदौ २, २०८२ सोमबार ७:२१, काठमाडौँ

हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गर्दै उनको रिहाइका लागि अनुरोध गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्‌मा र पुष्पा जोशीले त्यहाँका राष्ट्रपति र संसद् अध्यक्षसँग भेट गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। 

प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।’

हमास समूहको नियन्त्रणमा रहेका नेपाली विपिनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते आफूले यस विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएकाे जानकारी गराएका छन्। 

उनले भनेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ।’

यस क्रममा प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैलाई विशेष धन्यवाद पनि दिएका छन्। 

कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनायो। त्यसयता विपिन २०८० असोज २० देखि परिवारको सम्पर्कमा छैनन्। उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन। 

यहीबीच विपिन जोशीका आमा र बहिनी उनको रिहाइका लागि पहल गर्न गत साउन २६ गते इजरायल पुगेका हुन्। त्यहाँ उनीहरूले विपिनको रिहाइ गर्न राेईकराई विभिन्न पक्षसँग हारगुहार गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad