राजनीति


पुराना दलले कार्यशैली बदले निराशा घटेर जान्छः वर्षमान पुन

पुराना दलले कार्यशैली बदले निराशा घटेर जान्छः वर्षमान पुन

नेपालखबर
भदौ १, २०८२ आइतबार १९:५१, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। 

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले आइतबार राजधानीमा गरेको ‘मिनी संसद’ कार्यक्रममा पुनले जनतामा निराशा बढ्नुमा पुराना दलका कार्यशैली जिम्मेवार रहेको बताए। 

पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा र असन्तोषमा कमी आउने उनको भनाइ थियो। उनले पुराना दलमध्ये कमजोरी स्वीकार गर्न र सच्याउन तत्पर हुनेमा आफ्नो दल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि रहेको दाबीसमेत गरे। 

पुराना दलका कमजोरी र कार्यशैलीमाथि प्रश्न उठाएर लोकप्रियतावादी शक्तिको उदय हुन खोजेको पुनले उल्लेख गरे। तर, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीमा कमजोरी स्वीकार नगर्ने र सच्चिन तयार नहुने रहेको टिप्पणी उनले गरे। 

‘माओवादी केन्द्र र त्यसको मूल नेतृत्वले आफ्नो कमजोरी स्वीकार गर्छ र फेरिन तयार छ। तर, केपी ओलीजीजस्ता व्यक्तिहरू कहिल्यै गल्ती स्वीकार्नै तयार हुनुहुन्न,' उनले भने, 'गल्ती नगर्ने पार्टी र नेता नै हुँदैन। गल्ती हुन सक्छ। तर, गल्ती स्वीकार गरेर सच्याउन तयार हुनुपर्छ।’ 

राज्यले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने नीति लिँदा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेस-एमाले एकै ठाउँमा उभिएको पुनले बताए। ‘हामीले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने कुरामा जोड दियौं। कांग्रेस-एमालेसँग हाम्रो बाटो फरक भयो’, पुनले भने, ‘अहिले राज्य नै नोकरशाही पुँजीपति वर्गको स्वार्थमा चलेको छ।’ 

फरक प्रसंगमा उनले सरकार हाबी हुने प्रवृत्तिका कारण संसद्मा उठ्ने जनताका आवाज कमजोर भएको बताए।  

संसद् सत्तापक्षको संख्याको छायाँमा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्नेमा उनको जोड थियो। 

‘सत्तापक्ष बहमुतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छ’, पुनले भने, ‘प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ। यसलाई बदल्नुपर्छ।’ 

पुनले संसदमा कतिपय सांसदको भूमिकालाई लिएर समेत प्रश्न गरे। केही सांसदले संसदको पुरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको उनको भनाइ थियो।

‘पुरै कार्यकालभर एक शब्द नबोल्ने, कानून निर्माणको प्रक्रियामा संलग्न नहुने, विधेयकमाथिको सैद्धान्तिक र दफाबार छलफलमा सहभागी नहुने र संशोधन प्रस्ताव नहाली सांसदबाट बिदा हुने सांसदहरू पनि छन्’, पुनले भने। 

पुनले संसदलाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रुपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने उलेख गरे। 

‘औपचारिक संसद् होइन। जनताको भावना र आकांक्षा व्यक्त गर्ने खालको हुनुपर्छ’, संख्यामा कम छ भन्दैमा प्रतिपक्षबाट उठेका जायज र आवश्यक विषयहरूको सम्बोधन गर्ने गरी विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad