राजनीति


भारतीय विदेश सचिव मिस्रीका तीन भेट, तीन पोज

भारतीय विदेश सचिव मिस्रीका तीन भेट, तीन पोज

नेपालखबर
भदौ १, २०८२ आइतबार १८:२९, काठमाडौँ

दुई दिनका लागि आइतबार नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पहिलो दिन नै उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

भारतीय सेनाको विमानमार्फत बिहान काठमाडौँ ओर्लिनासाथ उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका थिए।

मिस्री प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन आएका भनिएको छ। तर, यो सामग्री तयार पार्दासम्म यस विषयमा दुवै तर्फबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

ओली र मिस्रीको भेटमा दुई देशको सम्बन्ध र साझेदारीमा जोड दिँदै कुराकानी भएको भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।

नेपाल-भारत साझेदारीमाथि जोड दिएको उल्लेख गर्दै दूतावासले भनेको छ, ‘गहिरो सभ्यतागत सम्बन्ध र बलियो नेपाल-भारत साझेदारीमाथि जोड दिँदै विदेश सचिवले विभिन्न क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभयो।’


ओलीसँगको बसाइबारे चर्चा
ओलीसँगको भेटघाटमा ‘कन्टेन्ट’ भन्दा पनि विदेश सचिव मिस्रीको बसाइ शैलीबारे नेपालमा टीकाटिप्पणी भएको छ।
 
उनी प्रधानमन्त्रीअगाडि उपरखुट्टी लगाएर (एउटा खुट्टामाथि अर्को खुट्टा राखेर) बसेको देखिन्छ। यसलाई कतिपयले प्रधानमन्त्रीसँगको भेटमा ‘सम्मानपूर्ण जेस्चर’ नदेखाएको भन्दै समाजिक सञ्जालमा टीकाटिप्पणी गरेका छन्। 

सत्तारुढ नेकपा एमालेकै सांसद दयालबहादुर शाहीले पनि यसबारे कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी युएसए र रुसजस्ता महाशक्तिसँग पनि छैन। के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त?’

देउवा-प्रचण्डसँग फरक पोज
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक मिस्रीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरिसकेका छन्। 

आफूलाई भेट्न बुढानीलकण्ठ पुगेका मिस्रीलाई स्वागत गर्दै देउवाले त्यसबारे आफैँ अग्रसर भएर समाजिक सञ्जालमा साझा गरेका छन्।

‘आज मेरो निवासमा भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ देउवाले एक्समा लेखेका छन्, ‘हाम्रो छलफल आपसी विश्वास, सद्भावना र समृद्धि तथा स्थिरताको साझा आकांक्षामा आधारितनिकट र बहुआयामिक नेपाल-भारत सम्बन्धलाई अझ सबल बनाउन केन्द्रित रह्यो।’

देउवासँगको भेटमा भने मिस्रीको हाउभाउ फरक देखिन्छ। देउवासँग उनी आत्मीय र खुलस्त देखिन्छन्। त्यतिकै ‘सम्मानपूर्ण पोस्चर’मा पनि बसेका छन्। प्रधानमन्त्री ओलीसँग बस्दाको जस्तो उपरखुट्टी लगाएका छैनन्। 

प्रचण्डसँगको भेटमा पनि उनी देउवासँगको भेटमा जस्तै गरी बसेका छन्। खमुलटारमा प्रचण्डसँग बस्दा उनले सचेततापूर्वक आफ्नो हाउभाउ बनाएको देखिन्छ। 

देउवाँसग अलि खुला देखिएका म्रिसी प्रचण्डसँग भने अलि ‘औपचारिक पोस्चर’मा रहेको देखिन्छ। 

प्रचण्ड सचिवालयले भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएका बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad