राजनीति


नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
साउन २९, २०८२ बिहिबार २०:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ कानम गर्नुपर्नेमा जोड दिए।

उनले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्नेगरी सबै किसानलाई व्यावसायिक भैँसीपालन गराउन, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवन बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराए। 

प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेल्वे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ/तराई मधेस द्रुत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न समेत मन्त्रीहरूलाई आग्रह गरे। 

‘मेरा यी कुराहरू प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ’, प्रधानमन्त्री ओलीले भने, ‘मौलिक ढङ्गले हामी अघि बढ्नुपर्छ। साँच्चै माइलस्टोन हुने खालका काम गरौँ।’ 

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ मा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad