ग्लोबल


पुटिनको नजर युक्रेनी भूमिमा, ट्रम्पको चाहना नोबेल पुरस्कार

बैठकस्थलका रूपमा अलास्का छानिनु पनि रुसको जित
पुटिनको नजर युक्रेनी भूमिमा, ट्रम्पको चाहना नोबेल पुरस्कार

नेपालखबर
साउन २९, २०८२ बिहिबार २०:२५,

युक्रेन युद्ध अन्त्य गर्ने उदेश्य राखेर डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा वार्ता हुँदैछ। तर, वार्तामा यी दुई नेताको प्राथमिकता भने अलगअलग हुनेछ।

पुटिनले युक्रेनलाई हराउने र भूमि कब्जा गर्ने इच्छा व्यक्त गर्दै आएका छन् भने ट्रम्प आफूलाई विश्वभरका द्वन्द्व समाधान गर्ने नेताका रूपमा उभ्याउन चाहन्छन्। 

त्यसबाहेक यी नेताका अन्य चाहना पनि छन्।

पुटिनका हकमा अन्तर्राष्ट्रिय मान्यता एउटा प्रमुख चाहना हो। पश्चिमा शक्तिहरूले एक्ल्याएको रुस फेरि विश्वमञ्चमा फर्केको छ। 

विश्लेषकहरू त पुटिनका लागि ट्रम्पसँगको शिखर बैठक आफैँमा जित भएको तर्क समेत गरिरहेका छन्। त्यसमाथि बैठकस्थलका रूपमा अलास्का छानिनु पनि रुसको जित हो।

किनकि रुसी सीमाबाट अलास्काको दूरी मात्र ९० किलोमिटर छ। पुटिनलाई त्यहाँ जान कुनै शत्रुराष्ट्र भएर उड्नु पर्दैन। त्यस्तै, यो युक्रेन र युरोपबाट निकै टाढा छ। 

अझ महत्त्वपूर्ण कुरा त अलास्का रुसले नै अमेरिकालाई बेचेको थियो।

‘राज्यका सीमाहरू फेरबदल हुन सक्छ, ठुल्ठूला भूभागको स्वामित्व फेरिन सक्छ भन्ने कुराको स्पष्ट उदाहरण हो अलास्का,’ रुसी पत्रिका मस्कोव्स्की कोम्सोमोलेट्सले लेखेको छ।

यसबा६ कब्जा गरेको युक्रेनी भूमिमा आफ्नो दाबीलाई वैध ठहर्‍याउने तर्क गर्न पुटिनलाई सहज हुनेछ। जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ। तर, यसमा ट्रम्पको समर्थन जुटाउन सके र अस्वीकार गरेकोमा युक्रेनलाई प्राप्त हुँदै आएको अमेरिकी सहयोग रोक्न सके त्यो पुटिनका लागि निकै ठूलो उपलब्धि हुनेछ।

ट्रम्पको प्राथमिकता बेग्लै छ। २०२४ को चुनावअघि उनले युक्रेन युद्ध तुरुन्तै समाप्त गर्ने बताएका थिए। त्यो वाचा पूरा नभएका कारण राष्ट्रपति बनेयता उनले युक्रेन र रुसविरुद्ध पालैले आक्रोश पोखिरहेका छन्, उनीहरूलाई धम्क्याइरहेका छन्। 

पछिल्लो समय उनले रुसलाई अल्टिमेटम दिँदै थप नाकाबन्दी लगाउने घोषणा गरेका छन्। र यो वार्ताको नतिजाप्रति मानिसहरूको अपेक्षा कम गर्ने खालका अभिव्यक्ति दिइरहेका छन्।

बुधबार भ्लादिमिर जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पसँग कुरा गरेर पुटिनसँग आफूहरूले स्वीकार्न नसक्ने कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। 

तर, एउटा कुरा भने स्पष्ट छ– युद्ध अन्त्य गरेको जस आफ्नो भागमा पर्ने भए त्यस्तो नतिजालाई ट्रम्पले स्वीकार गर्ने छन्। यसै पनि उनी भारत–पाकिस्तानबीच युद्धविरामको जससमेत दाबी गरिरहेका छन्।

किनकि उनको नजर नोबेल शान्ति पुरस्कारमा छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad