राजनीति


काठमाडौँ-तराई/मधेस द्रूतमार्गः ४३ प्रतिशत काम सम्पन्न, खोकनाको विकल्प खोज्दै नेपाली सेना

काठमाडौँ-तराई/मधेस द्रूतमार्गः ४३ प्रतिशत काम सम्पन्न, खोकनाको विकल्प खोज्दै नेपाली सेना

राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक


नेपालखबर
साउन २९, २०८२ बिहिबार १५:३५, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन्।

राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले द्रूतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाए।

‘जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ’, मन्त्री राईले भने, ‘छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन।’

काठमाडौँ उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताए। 

‘खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको छ’, उनले भने।

निर्धारित समयमै द्रूतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भने, ‘निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला, तर सो समयमा सक्न निकै कठिन छ, तर मेलम्ची आयोजना जति चै लम्बिँदैन।’

खाँदबारी–किमाथाङ्का सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको जानकारी दिँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताए। हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्न लायक रहेको स्पष्ट पारे।

प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै द्रुतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको स्पष्ट पारे। 

‘अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्’, उनले भने, ‘धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ।’

प्रधान सेनापति सिग्देलले द्रूतमार्गको काठमाडौँतर्फको प्रवेश विन्दुका रुपमा रहेका खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको स्पष्ट पारे। 

‘यदि खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको छ’, उनले भने, ‘प्रवेश बिन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्कने भन्ने उपाय खोजिएको छ।’

सांसदहरूले रणनीतिक महत्वको द्रूतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad