राजनीति


माओवादी नेता गगन पुरी दमक जग्गा घोटालामा भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो

माओवादी नेता गगन पुरी दमक जग्गा घोटालामा भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो

नेपालखबर
साउन २८, २०८२ बुधबार २०:२२, काठमाडौँ

झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ दमकको सरकारी जग्गा घोटाला काण्डमा भ्रष्टाचारी ठहर भएका छन्।

दमकको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा पुरी दोषी ठहर भएका हुन्। २ वटा मुद्दामा गरी १३ जना सरकारी कर्मचारीलाई प्रभावमा पारी उनले सार्वजनिक पर्ती जग्गा व्यक्तिमा नाममा सार्ने धन्दा चलाएको विशेष अदालतले ठहर गरेको छ।

उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ।

विशेष अदालतले उनलाई एक वर्ष कैद सजाय पनि सुनाएको छ।

उनले हडपेको र बेचबिखन गरे–गराएको सरकारी जग्गा पनि जफत हुने भएको छ।

पुरीले बयानका क्रममा पनि सरकारी सार्वजनिक जग्गा दर्ता गराउने कार्यमा आफ्नो सक्रियता स्वीकार गरेको अदालतले फैसलामा उल्लेख गरेको छ।

‘यी प्रतिवादी रेवतराज पुरीले नै बयान गर्दा सुकुम्बासीकै सहमतिमा हाम्रो परिवारमा कायम गरी पुनः उनीहरूकोमा फिर्ता पास गरिएको तथ्य स्वीकार गरेकै देखिन्छ, फैसलामा लेखिएको छ, ‘तर यसरी हक हस्तान्तरण भएका लिखतहरू खरिदबिक्री भएका लिखत हुँदा सरकारी जग्गा निजकै सक्रियतामा आफू, आफ्नो परिवारका सदस्य तथा अन्य प्रतिवादीहरूको नाउँमा हालसाविक नापी दर्ता गराई हक हस्तान्तरण गरी उक्त जग्गा दर्ता गराउने कार्यमा संलग्न सरकारी कर्मचारीहरूको मतियारको रूपमा रहेको र सो कार्यबाट यी प्रतिवादी गगन भन्ने रेवतराज पुरीले नै प्रत्यक्षतः लाभ लिएकोसमेत देखिन आयो।’

पुरी स्वयंले आफ्नो, आफ्नो परिवार र अन्य व्यक्तिसमेतको जग्गा आफ्नो नाउँमा दर्ता गराई पुनः निजहरूलाई हक हस्तान्तरण गरेको तथ्य आफैँले स्वीकार गरेको देखिँदा अन्य जोसुकै व्यक्तिको नाउँमा जग्गा दर्ता गरे गराएको भए पनि उक्त कार्यको मुख्य जिम्मेवारी उनले नै वहन गर्नुपर्ने अदालतको ठहर छ।

सहप्रतिवादीहरूले गरेको बयान हेर्दा पनि पुरीले नै अन्य विभिन्न व्यक्तिको नाउँमा सरकारी सार्वजनिक जग्गा घुसाई नापी तथा दर्ता गर्न गराउन नेतृत्वदायी भूमिका खेलेको पुष्टि भएको फैसलामा उल्लेख छ।

जस्तो कि प्रतिवादी गीता पौडेलले बयानमा उल्लेख गरेअनुसार, २०७० सालतिर गगन पुरीले भनेका थिए, ‘तपाईँको जग्गाको लालपुर्जा बनेको छ, कि जग्गामा आएर बस्नुस् कि जग्गा बेच्नुस्।’

त्यसपछि गीताको परिवार सोही जग्गामा बस्न थाल्यो। गगनले मालपोत कार्यालयमा गई मनमाया पुरी र केशावती पुरीको नाममा नापजाँच भएको जग्गा गीताका नाममा पास गरिदिए।

त्यस्तै नक्सा सिट नं. १७९-००५५ को कित्ता नं. ४२ को क्षेत्रफल ७४४१ वर्गमिटर भएको जग्गा पनि गगनले नै पहिला सरकारबाट विश्वेश्वर पौडेलको नाममा गराए। विश्वेश्वर ललितपुरको कुपन्डोल बस्ने रहेछन्। गगन उनको घरैमा गएर ‘तपाईँले भोगचलन गर्न पाउनुहुन्न, यो वर्षौंदेखि हामीले भोगचलन गरेको हो, तसर्थ तपाईँको एक मात्र विकल्प भनेको बिक्री गर्नु नै हुन्छ’ भनी दबाबसहितको आग्रह गरे।

विश्वेश्वरले पनि काठमाडौँमै र अब दमक जान नसक्ने भन्दै गगनले भनेका कागजातमा सही गरिदिए। गगनको त धन्दा नै रहेछ कि पहिला सरकारी जग्गा छेउछाउका जग्गाधनीहरूका नाममा घुसाएर पास गर्ने अनि तेस्रो व्यक्तिलाई बेचेर ठूलो रकम हात पार्ने।

नापी र मालपोत कार्यालयका कर्मचारी हातमा लिएर उनले साँध सिमाना मिलान गर्ने भन्दै सरकारी जग्गा व्यक्तिका नाममा बनाउने गरेका रहेछन्।

यसअघि विशेष अदालतले नै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरी ४१ करोड रूपैयाँ बराबरको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो।

पुरी २०७९ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। त्यसबखत उनी एमालेका होमबहादुर थापासँग पराजित भए।

२०७४ मा गगन माओवादीबाटै टिकट पाएर दमक नगरपालिका प्रमुखको पदमा पनि प्रतिस्पर्धा गरेका थिए। त्यतिखेर उनी एमालेका रोमनाथ ओलीसँगपराजित भएका थिए।

उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भइसक्दा पनि माओवादीका शीर्षस्थ नेताहरूको आसपास देखिन छाडेका छैनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुलाकी राजमार्ग अभियानका क्रममा झापा पुग्दा पुरी उनीसँग कुम जोडेर फोटो खिचाउन पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad