नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक-२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा प्रस्तुत विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावमा धारणा राख्दै पुनले आफ्नो दल संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको विपक्षमा रहेको बताए।
‘हामीले संविधानमा ‘लिबरल’ व्यवस्था गरेका छौं, विधेयकमार्फत नागरिकका स्वतन्त्रता हनन् हुने खालका काम गर्न मिल्दैन’, पुनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताका कुरा छन्, प्रेस स्वतन्त्रताका कुरा छन्। नागरिकका गोपनीयताका हकका कुरा छन्। यसमा कहीं पनि बाधा गरिनुहुँदैन।’
दुनियाँभर साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको चुनौतीका रुपमा रहेको भन्दै पुनले विगतमा पनि पटकपटक नागरिक स्वतन्त्रतामा संकुचन हुने गरी ल्याइएका विधेयक विवादित भएर सरकार पछि हटेको प्रसंग उल्लेख गरे।
पुनले संकुचनकारी प्रावधानलाई संशोधनको प्रक्रियामार्फत सच्याएर विधेयक पारित हुनुपर्नेमा जोड दिए। ‘हामीले कानुन बनाउँदा स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्छ, दुनियाँलाई विश्वास दिलाउनुपर्ने हुन्छ’, पुनले भने।
Shares

प्रतिक्रिया