राजनीति


रविलाई रिझाउन डीपी–कविन्द्रले ल्याएको प्रस्तावले रास्वपामा विवाद

रविलाई रिझाउन डीपी–कविन्द्रले ल्याएको प्रस्तावले रास्वपामा विवाद

सागर न्यौपाने
साउन २७, २०८२ मंगलबार २०:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निवर्तमान सहकोषाध्यक्ष दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्तावले नयाँ विवाद सिर्जना गरेको छ। 

बोहोरा सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्। साउन २३ मा बसेको केन्द्रीय समिति बैठकमा उनका पक्षबाट आएको सो प्रस्तावले नेताहरूलाई दुई धारमा उभ्याएको केन्द्रीय सदस्यहरूको भनाइ छ।

लामिछाने सहकारी ठगी मुद्दामा कारागारमा भएकाले रास्वपालाई अहिले कार्यवाहक सभापति डोलप्रसाद अर्यालले हाँकिरहेका छन्। उनैले साउन २३ को केन्द्रीय समिति बैठक डाकेका थिए, जसमा विविधसमेत गरी १३ वटा एजेन्डा थिए।

पहिलोदेखि नवौँ एजेन्डासम्म पालैपालो बैठकमा पेस हुँदै गए र नेताहरूले समझदारी गर्दै गए।

तर, अचानक पूर्वनिर्धारित एजेन्डामा नरहेको रिक्त सहमहामन्त्री पदमा बोहरालाई नियुक्त गर्ने प्रस्ताव महामन्त्री कविन्द्र बुर्लाकोटीले राखे। उनको प्रस्तावले बैठकको माहोल नै बदलियो।

अचानक नयाँ प्रस्ताव ल्याएको भन्दै क्रान्तिशिखा धितालले आपत्ति जनाइन्। त्यसपछि उनलाई सांसदहरू सुमना श्रेष्ठ, तोसिमा कार्की र हरि ढकालले साथ दिए। 

६५ जना केन्द्रीय सदस्य भए पनि सो बैठकमा कोरम मात्र पुगेको थियो। चार जना नेता विरोधमा उत्रिएपछि महामन्त्री बुर्लाकोटी प्रस्ताव फिर्ता लिन बाध्य भए। 

चार नेताले के भने?
रास्वपाको तेस्रो संशोधित विधान अनुसार एक महिलासहित ३ जना सहमहामन्त्री रहन्छन्। यद्यपि, राष्ट्रिय महाधिवेशन भइनसकेकोले रास्वपाले अहिले संक्रमणकालीन अवस्थाकै विधान कार्यान्वयनमा छ। जसअनुसार दुईवटा सहमहामन्त्री पद छ। 

ती दुई पदमा विपिन आचार्य र सुमना श्रेष्ठ थिए। तर, पार्टीमा एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने भन्दै सहमहामन्त्री सुमना श्रेष्ठले चैत १८ गते राजीनामा दिइन्। जेठ ११ गते उनको राजीनामा स्वीकृत भयो।

त्यसयता रास्वपाको एउटा सहमहामन्त्री पद रिक्त छ। 

पटकपटक नेताहरूले सहमहामन्त्री रिक्त नराख्न आग्रह गर्दा सुनुवाइ नभएको केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले बताइन्।

‘सहमहामन्त्री पद रिक्त बनाउनुको कारण के हो त? के सुमना श्रेष्ठ मात्र यस पदका लागि योग्य हो त पार्टीको?’ असारमा बसेको केन्द्रीय समिति बैठकमा धितालले प्रश्न उठाएकी थिइन्, ‘सहमहामन्त्री पद रिक्त भएको लामो समय भयो त्यो पदमा कसैलाई नियुक्त गर्नुपर्‍यो, यहीँ केन्द्रीय समितिमा पनि योग्य महिला, दलित, जनजाति, जो सुकै पनि साथीहरू हुनुुहुन्छ।’

त्यसयता पटकपटक सचिवालय बैठक बस्यो तर, रिक्त सहमहामन्त्री चयनका विषयले प्रवेश पाएन। 

तर, साउन २३ गते बसेको बैठकमा महामन्त्री बुर्लाकोटीले दीपक बोहोरालाई नियुक्त गर्ने प्रस्ताव गर्दा नेताहरू ट्वाल्ल परे। तर, धितालले विरोध गरिन्। 

‘म यस प्रस्तावमा पूर्ण रुपमा असहमत छु,’ धितालले बैठकमा भनिन्, ‘यो प्रक्रिया मिलेको छैन। यसरी त मेरै नाम आएको भए पनि मेरो असहमति हुन्थ्यो। सचिवालयले कम्पनीजस्तो सरुवाबढुवा गर्नु हुँदैन। यो खालको गतिविधि देखाउन मिल्दैन। किनभने यो व्यक्तिको कुरा होइन। यस्ता खालका निर्णय स्वीकार गर्नुपर्छ भन्ने म मान्दिनँ, किनभने वैकल्पिक राजनीति यसरी हुँदैन।’

अरू दलभन्दा फरक हुनकै लागि उम्मेदवार चयनमा विधि बनाएको उनको भनाइ थियो। 

‘प्रावधान मिचेर गलत तरिका अपनाउन खोजियो, यसमा विमति छ, सचिवालयमै रहेका साथीलाई प्रमोसन गर्ने काम गर्नुहुँदैन। यदि साच्चिकै संशोधित विधानमा टेकेर गरिराख्नुभएको हो भने उपसभापति पनि महिला सहित तीनजना भनेको छ। अहिले २ जना मात्र हुनुहुन्छ त्यहाँ पनि महिला राखौँ न त,’ धितालले भनिन्। 

धितालले अस्वीकार गरेपछि सांसद तोसिमा कार्की उठिन्। एजेन्डामै नभएको विषय प्रवेश गराउन नपाइने उनले अडान राखिन्।

‘दुवै पुरुष राख्न पाइँदैन, यो पद महिलाकै लागि हो,’ कार्कीले भनिन्। 

त्यसपछि सांसद हरि ढकालले पनि एजेन्डाबाहिरको विषयस्वीकार गर्न नसकिने बताए। सांसद सुमना श्रेष्ठले पनि उनीहरूकै भनाइमा साथ दिइन्।

‘महिलाको पद महिलालाई दिनु उपयुक्त हुन्छ,’ श्रेष्ठले भनिन्।
 
त्यसपछि सो प्रस्ताव फिर्ता लिन बुर्लाकोटी बाध्य भए।

दीपक बोहरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अस्वीकार भएको ढकालले नेपालखबरलाई बताए।

‘प्रस्ताव आएको थियो सचिवालयबाट तर, केन्द्रीय समितिले त्यो मानेन,’ उनले भने, ‘तीनचार जना साथीले बोलेपछि सचिवालयले एजेन्डा फिर्ता गर्‍यो।’

नेताहरूका अनुसार सचिवालयमा यसबारे बृहत् छलफल नभई सिधै केन्द्रीय समितिमा ल्याइएकोले आशंका जन्मिएको हो।

बोहोरा नै सहमहामन्त्री बन्ने दाबी
सभापति लामिछानेको थुना लम्बिँदै गएपछि उनको समूह र पार्टीका नयाँ पदाधिकारीहरूबीच दूरी बढ्दै गएको रास्वपा नेताहरू बताउँछन्। कारागारमा रहेका रविलाई यसबारे जानकारी नहुने कुरै भएन। 

कार्यवाहक सभापति अर्याल र महामन्त्री बुर्लाकोटीहरूले बोहरा, प्रतिभा रावल, रमेश प्रसाईं लगायतका नेताहरूसँग समन्वय नगरेको भन्दै लामिछाने क्रुद्ध छन्।

त्यसैले रविलाई रिझाउन बोहोरालाई सहमहामन्त्रीमा अघि सारिएको एक नेताले बताए।

‘सभापतिको हिजोको टिमसँग अहिलेको पदाधिकारीको दूरी बढ्न थालेको भन्ने परेको छ,’ उनले भने, ‘त्यो दूरी नदेखाउन दीपकजीको नाम अघि सारिएको रहेछ। हामीले मिलाएरै काम गरेका छौँ भन्ने देखाउन त्यसो गरे पनि काम नभइदेओस् र एक्सपोज मात्र भइदेओस् भन्ने चाहना राखेको देखिन्छ।’ 

रास्वपाले एक जना सहमहामन्त्रीलाई संगठन विभागको प्रमुख बनाउँदैछ। त्यसो हुँदा बोहराले त्यो अवसर पाउनेछन्।

एक समहामन्त्री विपिन आचार्य अभियान तथा प्रशिक्षण विभाग प्रमुख छन्। 

‘बोहरा किन नभइदिए हुन्थ्यो भन्दा संगठन विभाग प्रमुख हुन्छन् र संगठनमा उनको होल्ड हुन्छ, रास्वपाका नेतालाई महाधिवेशन लागिसक्यो,’ ती नेताले थपे, ‘त्यसकारण केही साथीहरूको चाहना बनाउन नपाए हुन्थ्यो भन्ने छ। त्यही भएर एजेन्डामै नभएको प्रस्ताव गरेछन्। अस्ति साथीहरूले व्यक्ति होइन, पद्धतिमा कुरा उठाएका हुन्।’

साउन २३ गते रोकिए पनि बोहरा नै सहमहामन्त्री बन्ने नेताहरू दाबी गर्छन्। 

अहिले रविलाई बिच्काएर जाने पक्षमा कोही नभएको र, रविको चाहना पनि संगठनको जिम्मा बोहोरोलाई नै दिने रहेको उनको ती नेताको भनाइ छ। 

‘अब बस्ने केन्द्रीय समिति बैठकले त्यसबारे निर्णय लिन्छ,’ अर्का नेताले भने, ‘दीपकजी आफैँले म हुन्नँ भने मात्र हो, नत्र उहाँको विकल्प अघि सार्ने सम्भावना न्यून छ। अब हुने सहमहामन्त्री संगठन विभाग प्रमुख हुन्छ। सभापतिजीले पनि दीपकजीलाई बनाउन चाहनुभएको छ, संकट र अप्ठेरोमा दिएको साथ त छँदैछ,’ ती नेताले थपे।

तर, धिताल लगायत केही नेताले सहमहामन्त्री बन्ने इच्छा देखाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad