प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।
काठमाडौँमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही मन्त्री फेरिदैमा सरकार नै फेरिएको नहुने समेत उल्लेख गरे।
‘तपाईंहरू ढुक्कले काम गर्न सक्नुहुन्छ, पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो,’ ओलीले भने, ‘अहिले त्यो समस्या छैन। अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ। अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन। मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ। अहिलेको सरकार स्थिर छ। सरकार बनावटको हिसावले दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरु मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो। तपाईंहरु ढुक्कले काम गर्नुस्।’
उनले आफूलाई केही मानिसले कांग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जनाको अभाव रहेको १२ जना पुर्याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भनेर सुनाउन आएको समेत उल्लेख गरे।
‘सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ,’ ओलीले अगाडि भने, ‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो- नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाएको थियो। यो कथा कति सुन्नु, कान टट्याइसक्यो। यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन। यो सरकार स्थिर सरकार हो।’
यो सरकार ०८४ को पुससम्म जाने समेत उनको भनाइ।
Shares

प्रतिक्रिया