राजनीति


कुलिङ पिरियड प्रकरण: रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा

कुलिङ पिरियड प्रकरण: रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा

नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:३४, काठमाडौँ

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले पदबाट राजीनामा दिएका हुन्।  

'विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो' उनले भने। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्थामा चलखेल गरी निष्प्रभावी हुने भाषा घुसाएपछि उनको आलोचना भएको थियो। 

यस विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेर साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो।  

खतिवडाले आजको संसद् बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे, कांग्रेस प्रमुखसचेतक श्यामकुमार घिमिरेसहितलाई भेटेका थिए।  

‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ,’ खतिवडाले भने, ‘२ वर्षे कुलिङ पिरियड राख्नुपर्छ भनेर सुरूदेखि नै मैले अडान लिएको थिएँ, समितिले पनि अडान लियो र समितिबाट पारित गरेर संसदमा पठाइएको थियो।’ 

विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिएको उनको भनाइ छ। ‘मबाट र समितिबाट त्रुटि भएको होइन,’ उनले भने, ‘यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ।’ विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीले चलखेल गरेको उनको आरोप छ। 

उनले यस विषयमा आफ्नोमात्र कि संसद्कै त्रुटि रह्यो भन्ने प्रश्न पनि गरे। कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी नठहर्‍याएको पनि उनले दोहोर्‍याए। 

‘रामहरि खतिवडा दोषी भनेर किटान गरेको छैन तर किसुनजीबाट दीक्षित हो म। आजको दिनमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु सभामुख महोदय,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad