राजनीति


ओली-भण्डारी टकराब : मदन भण्डारी फाउन्डेसनलाई स्मृति प्रतिष्ठानको ‘काउन्टर’

ओली-भण्डारी टकराब : मदन भण्डारी फाउन्डेसनलाई स्मृति प्रतिष्ठानको ‘काउन्टर’

सागर न्यौपाने
साउन २६, २०८२ सोमबार २१:३५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मनमुटाव बढ्दै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३१ वर्ष पुरानो मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय पारेका छन्। 

प्रतिष्ठानले आगामी दिनमा मदन भण्डारी फाउन्डेसनलाई टक्कर दिने एमालेका नेताहरू बताउँछन्। 

तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएपछि २०५० जेठ ९ गते मदन–आश्रित स्मृति प्रतिष्ठान बनेको थियो। लामो समय निष्क्रिय रहेको प्रतिष्ठानलाई साउन तेस्रो हप्तादेखि अध्यक्ष ओलीका विश्वासपात्रको कमान्डमा ल्याइएको छ। साउन २३ गते भएको अधिवेशनबाट एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिष्ठानको अध्यक्ष चुनिएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले सोमबार शपथ लिए। 

सदस्य सचिव मधु तिमल्सिनाका अनुसार प्रतिष्ठानले अब राजनीतिक वैचारिक क्षेत्रमा काम गर्नेछ।

‘हामी विचारधारात्मक क्षेत्रमा काम गर्छौँ। प्रशिक्षण केन्द्र, पार्टी स्कुल चलाइराखेका थियौँ,’ उनले भने, ‘अब जबज सम्बन्धी धेरै काम यही संस्थाबाट हुन्छ,’ उनले भने, ‘अहिलेसम्म छरिएर काम भएको थियो। अब जबजमै केन्द्रित हुन्छौँ र गतिविधि गर्छाै। हाम्रो २२ जिल्लामा शाखा छ, अब सबै जिल्लामा विस्तार गर्दैछौँ।’

उनका अनुसार बदलिँदो राजनीतिक परिस्थिति अनुसार प्रतिष्ठानलाई सक्रिय पारिएको हो। 

‘झण्डै ४ वर्ष यसले कुनै गतिविधि गर्न सकेन। राजनीतिक विचारधाराको काम अलि पछि परेको थियो,’ तिमल्सिनाले थपे, ‘प्रधानमन्त्रीको चाहना पनि यसलाई बढी राजनीतिक, वैचारिक काम गर्नेगरी अघि बढाउनुपर्छ भन्ने छ।’

ओलीले सोचीविचारी यो कदम चालेको एमालेका नेताहरूको भनाइ छ।

‘केपी ओलीलाई एमालेको अध्यक्ष मदन भण्डारी फाउन्डेसनले नै बनाएको हो। उहाँलाई फाउन्डेसनले केसम्म गर्न सक्छ र तागत राख्छ भन्ने कुरा थाहा छ,’ एक नेताले नेपालखबरसँग भने, ‘त्यसबाट कसरी गुटबन्दी हुन्छ भन्ने कुरा थाहा छ। त्यसबाट हिजो झलनाथ खनाल र माधवकुमार नेपाललाई जुन खालको अप्ठेरो पारेको थियो, त्यो ओलीले प्रष्ट देख्नुभएको छ।’

यद्यपि, प्रतिष्ठानका सदस्यसचिव तिमल्सिना भने फाउन्डेसन र प्रतिष्ठानको काम अलगअलग भएको दाबी गर्छन्।

‘उहाँहरू (मदन भण्डारी फाउन्डेसन) बाट पनि जबजको काम भइआएको छ, कहीँकहीँ डुब्लिकेसन हुन पनि सक्ला, तर, आआफ्नो काम गर्ने हो,’ उनले थपे, ‘उहाँहरू छुट्टै दर्ता हो, हामी छुट्टै दर्ता हो। उहाँहरूले छुट्टै काम गरिराख्नु भएको छ, हामी छुट्टै गरिराखेका छौँ। यसमा कुनै विरोधाभास छैन।’

तर, अब यही प्रतिष्ठानलाई देशभर लैजाने कार्यक्रम बनाइएको उनी बताउँछन्।  

‘अब यो प्रतिष्ठानलाई वेगवान् गतिमा लैजानपर्छ। अझ बढी सक्रिय बनाउँछौँ, देशभर पुर्‍याउँछौँ,’ तिमल्सिनाले भने।  

मदन भण्डारी फाउन्डेसनलाई टक्कर
एमालेले आफ्नो सैद्धान्तिक आधार मानेको जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन महासचिव मदन भण्डारी हुन्।

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्युसँगै एमालेले जबजलाई केन्द्रमा राखेर राजनीति गर्दै आएको छ।

जबजलाई पार्टीको निर्देशक सिद्धान्त मान्दै एमालेले यही विचारलाई अघि बढाउने लक्ष्यसहित २०५६ सालमा मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्र स्थापना गरेको थियो। त्यसको अध्यक्ष तत्कालीन एमालेकी केन्द्रीय सदस्य एवं मदनकी श्रीमती विद्यादेवी भण्डारी बनिन्। 

त्यतिबेला एमालेका स्थायी कमिटी सदस्य रहेका केपी शर्मा ओली केन्द्रको संरक्षक थिए। २०५४ सालमा भएको महाधिवेशनमा कमजोर बनेपछि ओलीले यही मदन भण्डारी अनुसन्धान केन्द्रमार्फत् गतिविधि गरे। जसमा विद्यादेवी भण्डारीले भरपुर साथ दिइन्। 

पार्टीमा माधव नेपालको एकलौटी थियो। त्यही बेला यसैमार्फत् ओलीले राजनीतिक गतिविधि गर्न पाएका थिए।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार यो संस्था विद्या भण्डारी र केपी शर्मा ओली दुईजनाको क्रियाशीलतामा अलग संस्थाका रूपमा स्थापना गरिएको हो।

‘मदन भण्डारीको चर्चापरिचर्चा गर्नका लागि केन्द्रदेखि जिल्लाजिल्लासम्म त्यसको संरचना पहिलादेखि थियो,’ ज्ञवालीले भने, ‘पार्टीका मान्छे त्यसमा हुनुहुन्छ।’

सुरुमा गैरसरकारी संस्थाको रूपमा स्थापना गरिएको केन्द्रले मुख्यरूपमा जबजलाई देशभर पुर्‍याउने लक्ष्य लियो। शिक्षा र सामाजिक क्षेत्रमा पनि यसले हात हाल्यो। र, यसले केपी ओली र विद्यादेवी भण्डारीको प्रभाव विस्तारमा सघायो।

२०६१ साल भदौमा यसैलाई मदन भण्डारी फाउन्डेसनका रूपमा दर्ता गरियो।

त्यसयतादेखि २०७२ कात्तिकसम्म फाउन्डेसनको अध्यक्षमा विद्यादेवी भण्डारी रहिन्। एमालेको उपाध्यक्ष रहेकी उनले राष्ट्रपति बनेपछि उपाध्यक्ष र फाउन्डेसनको अध्यक्ष दुवैबाट राजीनामा दिइन्। अहिले उनकै छोरी उषाकिरण भण्डारी फाउन्डेसनको अध्यक्ष छिन्।

अहिले देशभरका ५० बढी जिल्लामा फाउन्डेसनको शाखा  कार्यालय छ। फाउन्डेसनमार्फत् एमालेको राजनीतिक गतिविधि हुने गरेको छ।
 
‘पहिला गैरसरकारी संस्था अन्तर्गत दर्ता गरिएको थियो। ०६२–०६३ पछि राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता गरेर अहिले जिल्ला जिल्लामा शाखा कार्यालय गठन गर्न सकिने बनाइएको छ,’ फाउन्डेसनका सचिवालय सदस्य भेषराज अधिकारीले भने, ‘यसले वैचारिक क्षेत्रमा काम गर्छ। मदन भण्डारीले प्रतिपादन गर्नुभएको जुन विचार छ, जनताको बहुदलीय जनवाद त्यसको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य हो। अर्काे, मदन भण्डारीको योगदानको उजागर गर्ने भयो। अन्य शिक्षा, स्वास्थ्य जलवायु परिवर्तनमा पनि काम गर्छ।’

राष्ट्रपतिका रूपमा सात वर्ष बिताएपछि विद्या भण्डारी आफ्नै निवास भंगाल सरिन्। झण्डै डेढ वर्ष उनले निवासमै एमालेका नेता–कार्यकर्तासँग भेटघाट गरिन्। त्यसपछि एमालेको सदस्यता नवीकरण गरेर देश दौडाहमा उनी निस्किइन्। 

फाउन्डेसनले असार १४ गते ७४ औँ जन्म जयन्तीका अवसरमा काठमाडौँमा विशेष कार्यक्रम गर्‍यो। जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
 
तर, सोही कार्यक्रमबाट भण्डारीले आफूले एमालेको राजनीति गर्नेगरी सदस्यता नवीकरण गरेको बताइन्।

तर, एमाले अध्यक्ष ओलीले उनको सदस्यता नवीकरण रोकिदिए। साउन ६ गते सकिएको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै राजनीतिमा उनको आगमनलाई रोकिदिएको छ। अध्यक्ष पद ताकेपछि भण्डारीको बाटो छेक्नुपरेको एमाले नेताहरू बताइरहेका छन्।

तर, भण्डारी पछि हट्ने मनस्थितिमा देखिन्नन्। उनले मदन भण्डारी फाउन्डेसनमार्फत् राजनीतिक गतिविधि गर्ने तयारी गरिरहेकी छन्।

देशैभरका एमाले नेता–कार्यकर्तासँग जोडिन उनले फाउन्डेसनमार्फत् कार्यक्रम बनाइरहेकी छन्।

त्यसका लागि थापागाउँमा सम्पर्क कार्यालय खुलिसकेको छ। जहाँ भण्डारीले भदौदेखि नियमित पुगेर एमालेका नेता–कार्यकर्ताका कुरा सुन्ने एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा बताउँछन्। 

पूर्वराष्ट्रपति भण्डारीसँग टकराव नपरेको भए राजनीतिक वैचारिक गतिविधि गर्ने मुख्य उदेश्य राखेर प्रतिष्ठानलाई सक्रिय पारिने सम्भावना नभएको एमालेकै नेताहरू बताउँछन्। 

सोमबार ओलीले फाउन्डेसन पार्टीले नबनाएको बताए। मदन भण्डारी जन्मदिन, स्मृति दिवस मनाउन नपाउने स्थिति आएपछि सो संस्था स्थापना गरिएको तर एमालेप्रति त्यसको निष्ठा नरहेको उनको भनाइ थियो।

प्रतिष्ठानमा को–को छन् पदाधिकारी? 
प्रतिष्ठानले साधारण सदस्य मध्येबाट ११ जनाको कार्यसमिति चुन्छ। त्यसले पदाधिकारी चुन्ने उनले जानकारी दिए।

‘यसले पोलिटेक्निक इन्स्टिच्युट पनि चलाएको छ। ३१ औँ साधारण सभा साउन २३ गते भएको हो,’ तिमल्सिनाले भने, ‘यसको अध्यक्ष रहेका प्रदीप नेपालको वैशाखमा निधन भएपछि अहिले नयाँ अध्यक्ष चयन हुनुभएको हो।’

उनका अनुसार प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाल, सचिव मधु तिमल्सिना, कोषाध्यक्ष सरोज दाहाल छन्।

कागेश्वरी मनोहराका पूर्वमेयर कृष्णहरि थापा सदस्य छन्। यस्तै, विदुर ढुङ्गाना, सुदर्शन चापागाईं, श्रीकृष्ण चापागाईं, सुरेश निरौला, दिव्याकुमारी घिमिरे पनि सदस्य छन्। 

यस्तै, आमन्त्रित सदस्यमा रामचन्द्र पुडासैनी र सुरेश चापागाई छन्। 

साधारण सदस्य मध्यबाट अध्यक्ष चुनिने प्रावधान अनुसार ज्ञवाली चुनिएको उनले बताए।  

‘समझदारीमै पार्टी र हामीले बसौँ भनेर आग्रह गरेका हौँ,’ सदस्य सचिव तिमल्सिनाले भने, ‘सर्वसम्मत, एकजनाको पनि विरोध नभईकन। हामी सबैले प्रस्ताव गर्‍यौँ, उहाँले पनि हुन्छ भन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad