राजनीति


विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणापछि अंगिकृत नागरिकता: गृहमन्त्री लेखक

विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणापछि अंगिकृत नागरिकता: गृहमन्त्री लेखक

नेपालखबर
साउन २६, २०८२ सोमबार १३:०, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन्।  

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे। 

‘अहिले हामीले आमाको नामबाट नागरिकता पाउने कुरालाई सरलिकृत गरेका छौं। बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका लागि सहयोग गर्नुभएको छैन भने आमाकै नामबाट  नागरिकता दिने व्यवस्था हामीले व्यवस्था गरेका छौं,' उनले भने, 'बुबा बेपत्ता हुनुहुन्छ वा उहाँले अर्को विवाह गरेर जानुभएको छ भने सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था गरिएको हो।'

उनले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पारे।

आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको उनको भनाइ छ। 

आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने लेखक बताउँछन्। 

विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ। 

'सन्तानले विदेशको नागरिकता लिएको छैन भने आमा र सन्तानको दुवैको अधिकार सुरक्षित गर्नको लागि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरेका छौँ,' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad