राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतीमा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै सभापति खतिवडाले राजीनामा दिँदा उपयुक्त हुन्छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै झाले नेपालखबरसँग भने, ‘संसदीय छानविन समितिबाट जुन प्रतिवेदन आएको छ, त्यसले सभापति खतिवडामा नैतिक पतन र नालायकीपना दुवै देखाएको छ। उहाँमा अब सभापतिमा रहने नैतिक अधिकार रहेन।’
उनले बैठकमा राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्ति रास्वपाको पार्टी सदस्य हुन नपाउने प्रस्ताव आए पनि त्यसमा छलफल नभएको बताए।
बैठकमा रुपन्देहीमा भएको संसदीय दलको बैठकको समीक्षा, रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको तयारीकाे सम्बन्धमा छलफल भएकाे झाले बताए।
रास्वपा केन्द्रीय समितिको बैठक यही साउन २३ गते दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने भएकाे छ।
Shares

प्रतिक्रिया