राजनीति


प्रधानमन्त्रीमाथि रास्वपाको प्रश्नैप्रश्न

प्रधानमन्त्रीमाथि रास्वपाको प्रश्नैप्रश्न

नेपालखबर
साउन १९, २०८२ सोमबार १५:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारको अनियमितता र छलछामको शृंखला बढ्दै गएको बताएका छन्। सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले केकेमा मात्र प्रश्न उठाउने बताए।

सांसद शाहले सरकारले एकपछि अर्को गल्ती गर्दा लाज नमानेको टिप्पणी गरे। त्यो देख्दा विपक्षमा रहेका आफूहरूलाई भने लाज लागिरहेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रास्वपालाई व्यवस्था र संसद्‌विरोधी भनेका भन्दै उनले भारतका विश्वप्रसिद्ध गजलकार गालिबको सायरी पढेका थिए।

'प्रधानमन्त्रीको भनाइले गालिबको सायरी याद भइरहेको छ, ‘उम्रभर यही गल्ती कर्ता रहा, धुल चेहरा पर था, ऐना साफ कर्ता राहा’,' उनले भने, 'धुलो तपाईंको अनुहारमा छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ? तपाईंहरू यो गल्ती नगर्नुहोला।'

उनले घुसकाण्डको अडियो सार्वजनिक भएका राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनमा दिएपछि ‘सफाइ’ पाएको बताए। अर्का मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठमाथि छानबिन समेत नगरिएको भन्दै उनले प्रश्न उठाए।

'अनि, यो कस्तो नयाँ परम्परा होला ? भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो, अनि मन्त्रीले राजीनामा दिएपछि सबै पाप पखालियो। राजीनामा भनेको त भ्रष्टाचारबाट मुक्ति पाउने गंगास्नान पो भएछ ?,' प्रश्न गर्दै शाहले भने, 'तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो, छानबिनको फाइल बन्द भयो। अनि, त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृष्य शक्तिले संरक्षण दिइरहेका छन् ? के उहाँहरूका लागि यो देशमा अर्कै कानुन छ ?'

उनले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले ‘अपरम्पार लीला’ देखाएको भन्दै व्यंग्य गरे। 'वनमन्त्रीको त लीला नै अपरम्पार सुन्न पाइयो। हुँदै नभएको कार्यक्रमको ठेली बनाएर श्रीमती र स्वकीय सचिवलाई नर्वे सयर गराउनुभएछ,' उनले भने, 'देश आर्थिक संकटले थिलोथिलो भएका बेला जनताले तिरेको करमा कस्तो रमाइलो वनभोज होला !'

उनले थपे, 'जनताले बिर्सन्छन् भन्ने नसोच्नुहोला, जनताले बिर्सने छैनन्। हामी कुनै पनि हालतमा बिर्सन दिने छैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad