नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारसँगै किसानको आर्थिकस्तर सुधारका कार्यक्रम ल्याएको तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज गरिदिएको गुनासो गरेका छन्।
जारी स्थायी समिति बैठकमा आइतबार धारणा राख्दै शर्माले माओवादी सरकारका बसेर उदारवाद र नवउदारवादको बखान गर्नाले समस्या निम्तिएको बताएका हुन्।
‘पार्टीलाई समाजवादको दिशामा लैजानुको साटो सरकारमा बसेर उदारवाद र नवउदारवादको बखान गर्यौँ। सोही अनुसारको नीति कार्यक्रम बनायौँ। केही सुधारका काम गर्न खोजे पनि त्यसप्रति सह्य भएन। हाम्रो नेतृत्वले मजदुर किसानको बाटो छोड्न खोजेको र वर्गप्रति प्रतिबद्धता टाढा भएको कारण मसँगको प्रेम घटेको हो,’ उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘म अर्थमन्त्री हुँदा किसान पेन्सन कार्यक्रम ल्याएको, प्रत्येक पालिकामा ३०० जना कृषि भोलिन्टियर बनाउने र बाँझो जमिन प्रयोग गर्नेजस्ता कार्यक्रम बजेटमा ल्याएपछि त्यसलाई कार्यान्वयन नगरी हाम्रा अध्यक्ष प्रधानमन्त्री हुँदा नै खारेज गरेको कुरा म यहाँ स्पष्ट गर्न चाहन्छु।’
उनले संघीयता कार्यान्वयन गर्न प्रचण्ड इमान्दारिता नभएको आरोप पनि लगाए। संघीयता कार्यान्वयनमा नेतृत्व इमान्दारी नहुँदा प्रदेश कमजोर भएको उनको भनाइ थियो।
‘संघीयता कार्यान्वयनमा हाम्रो मुल नेतृत्व इमान्दारिता भएको भए आज प्रदेशमा प्रहरी हुने थियो, प्रदेश बलियो भैसक्थे,’ उनले भने, ‘उत्पीडित, जाति, वर्ग, क्षेत्र र समुदाय हामीसँग रिसाएको छन्। पहिचानलगायतका मुद्दाहरू हामीले बिर्सेका छौँ। यिनलाई ब्युँझाउनुपर्छ र अगाडि बढाउनुपर्छ।’
उनले आफूले यी कुराहरू कार्यान्वयनमा लैजानुपर्छ भनेर यसअघिका स्थायी समिति बैठकमा पनि प्रस्ताव गरेको बताए।
प्रचण्डलक्षित जनार्दनको कटाक्ष: ३१ लाख मत ११ लाखमा झर्नुको कारण मै हो भने आत्मालोचना गर्छु
Shares

प्रतिक्रिया