सरकारले नेपाल प्रवेश गर्ने सबै विन्दु र भारतसँग जोडिएका खुला सीमानाका बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले मालसामानको ढुवानी जारी रहेपनि मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।
सरकारी निर्णयको अवज्ञा गर्दै नेपाल प्रवेश गर्ने वा कुनै विदेशी नागरिकलाई लुकाएर राखेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री युवराज खतिवडाले बताए।
सरकारले सहसचिवहरुको बढुवा तथा सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ। प्रशासन कलस्टरका सह सचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्दै प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गरेको छ। प्रदेश नम्बर २ का प्रमुख सचिवलाई सुदूपरपश्चिमको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ। त्यसैगरी इञ्जिनियरिङ कलस्टरका सहसचिव सागर राईलाई सचिवमा बढुवा गर्दै नेपाल ट्रष्टको सचिवमा सरुवा गरिएको डा. खतिवडाले बताए।
यस्तै, सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ। पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउनको घोषणा गरेको सरकारले चौथो पटक बैशाख १५ गतेसम्म समय थपेको हो। यसअघि लक डाउन अवधि बढाउँदै चैत २५ गतेसम्म पुर्याइएको थियो। त्यसपछि वैशाख ३ गतेमध्यरातिसम्म लकडाउनको अवधि थप गरिएको थियो।
कोरोना भाइरसको संक्रमण अझै फैलिने सम्भावना देखिएकाले लक डाउनलाई बैशाख १५ गते सोमबार मध्यरात सम्मका लागि निरन्तर दिने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री खतिवडाले बताए।

प्रतिक्रिया