राजनीति


बालुवाटार छलफलमा के भयो? यस्तो भन्छन् पूर्णबहादुर खड्का

बालुवाटार छलफलमा के भयो? यस्तो भन्छन् पूर्णबहादुर खड्का

नेपालखबर
साउन १५, २०८२ बिहिबार १५:३१, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुसहित बालुटारमा गरेको छलफलमा संघीय मन्त्रिपरिषद् हेरफेरबारे कुनै चर्चा नै नभएको बताएका छन्। 

बालुवाटार छलफलबारे नेपालखबरलाई जानकारी दिँदै उनले भने, ‘संघीय सरकारको मन्त्री हेरफेरको एजेन्डा पनि थिएन। चर्चा पनि भएन। छलफल पनि भएन।’

छलफलमा ओली र देउवाका अलवा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र रमेश बडाल सहभागी भएका थिए। 

बैठकमा सहभागी खड्काले मन्त्रिपरिषद् हेरफेर नभइ बरु मन्त्रीहरूको काम प्रभावकारी बनाउन सुझाव दिने निर्णय भएको जानकारी दिए।

‘संघीय सरकारलाई प्रभावकारी बनाउनका लागि माननीय मन्त्रीजीहरुलाई आआफ्नो मन्त्रालयको काम द्रुतगतिमा अगाडि बढाउनका लागि सुझाव दिने भन्ने भएको छ,’ उनले भने।

बागमतीबारे कांग्रेसले भन्यो– हाम्रो आन्तरिक मामिला

बैठकमा बागमती प्रदेशको पछिल्लो राजनीतिक विवादबारे छलफल भएको थियो। सत्ताको नेृतत्व गरेको नेपाली कांग्रेसका नेताविरुद्ध नै पार्टीको अर्को समूहले अविश्वास प्रस्ताव ल्याएर दलको नेता नै परिवर्तन भइसकेको छ।

यसबारे बैठकमा छलफल भएको र यो आफूहरुको आन्तरिक विषय भएकाले आफूहरुले नै टुंग्याउने जानकारी बैठकमा दिएको खड्काले बताए।

‘बागमती प्रदेशका हकमा छलफल भयो,’ उनले भने, ‘यो हाम्रो आन्तरिक विषय हो। हामी आफै सल्टाउँछौँ। एमालेबाट प्राप्त सहयोगका लागि धन्यवाद भन्यौँ।’

बागमती प्रदेश सरकारमा एमाले प्रमुख सत्ता साझेदार हो।

विधेयकमा कांग्रेस–एमालेबीच विवाद नभएकाे दाबी
त्यस्तै बैठकमा संसद्‍मा विचाराधीन विभिन्न विधेयकबारे पनि छलफल भएको भन्दै खड्काले चाँडो परिमार्जन गरेर पेस गर्ने सहमति भएको बताए।

‘संसद्‍मा रहेका विधेकहरू छलफलमा छन्,’ उनले भने, ‘ती विधेयकहरुलाई परिमार्जन गरेर चाँडो टुंग्याउने भन्ने भएको छ।’

भूमि, निजामती लगायतका विधेकमा एमाले र कांग्रेसबीच कुनै विवाद नभएको दाबी गर्दै खड्काले विधेयकमाथि परेका संशोधनलाई सम्भव भएसम्म सरकारले स्वीकार गरेर टुंग्याउने सहमति भएको समेत उल्लेख गरे। 

‘छलफल गर्दै, चाँडो टुंग्याउने भन्ने भएको छ,’ उनले भने, ‘कांग्रेस र एमालेको बीचमा केही पनि विवाद छैन। साथीहरुले संशोधन हाल्नु भएको छ। मन्त्रीजीले संशोधन अनुसरण गर्दै जानु भएको छ। खुला छलफल भएको छ। त्यहाँ कांग्रेस एकातिर, एमाले अर्कोतिर  भन्ने विषय नै होइन।’

खड्काले थपे, ‘मान्यजीहरुले संशोधन हाल्नु भएको छ। स्वीकार गर्न मिल्ने कुरा स्वीकार गरेर जाने भन्ने कुरा भएको छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad