नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन्।
माओवादीको समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ-संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै अध्यक्ष उनले सामाजिक संघसंस्थाको भूमिकाले नै समाजवादको भूमिका निर्धारण गर्ने बताए।
‘नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,’ प्रचण्डले भने।
माओवादीले नेतृत्व गर्ने संस्थामा फरकपन देखाएर जनतामा स्थापित हुनुपर्नेमा उनले जोड समेत दिए।
‘जहाँजहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ,’ प्रचण्डले भने।
सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै उनले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्ति देखिएको टिप्पणी गरे।
‘अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ,’ प्रचण्डले भने, ‘जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ। पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ-संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन्। माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नु पर्छ। जनताले फरकपन महशुस गर्नेगरी काम गर्नुपर्नेहुन्छ।’
सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको उनले भने।
त्यस्तै विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे।
Shares

प्रतिक्रिया