राजनीति


काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्रीले दिए चासो

वैकल्पिक उपाय अपनाएर भए पनि काम अघि बढाउन मन्त्रालय र सेनालाई निर्देशन
काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्रीले दिए चासो

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८२ सोमबार १३:४६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे)को निर्माण समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

आइतबार सरोकारवाला पक्षसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत द्रुतमार्ग निर्माणको काम समयमै सक्न सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिएको जानकारी दिएका हुन्। 

‘काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे) हाम्रो रणनैतिक महत्त्वको सडक आयोजना हो। यसले काठमाडौँलाई १ घण्टाको समयमै तराईसँग जोड्छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘द्रुतमार्गको खोकना-डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ। सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु। हामीसँग धेरै समय छैन।’

हिजाेकाे छलफलमा द्रुतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु ललितपुरको खोकना क्षेत्रमा देखिएका समस्या समाधानको विषयमा छलफल भएकाे थियाे।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिव लगायतकाे उपस्थिति थियाे। 

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम करिव ४० प्रतिशत मात्रै सकिएकाे छ। आगामी २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ।

करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्छ। 

आयोजनाको ६ स्थानमा सुरुङमार्ग बन्नेछन्। सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ।

यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ। त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्। यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन्। त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियाे। आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए।

विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो। सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो। गतवर्ष वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको छ।

यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad