नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ।
समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौती तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ।
काठमाडौँको सोल्टी होटलमा हुने समिटको पहिलो चरणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। समिटको अन्तमा ‘मिसन २०८४ः दोब्बर लगानी, दोब्बर रोजगारी’ मूल विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री डा मीनेन्द्र रिजालबीच प्रत्यक्ष संवाद हुनेछ।
समिटका प्रमुख वक्ताहरूमा चर्चित अर्थशास्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका छन्।
ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन रहेको समिटमा घरेलु लगानी र प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा दुईवटा विषयगत सत्रहरू रहनेछन्।
पहिलो सत्र, ‘घरेलु पूँजी, घरेलु विकास’मा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया, होटल मेची क्राउनकी उपप्रबन्ध निर्देशक अश्लेशा कार्की र उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली सहभागी हुनेछन्। नेपालखबरका कन्सल्टिङ एडिटर कुबेर चालिसेले संचालन गर्ने यो सत्र ‘मिसन २०८४’ मा घरेलु लगानी र रोजगारी दोब्बर बनाउने रणनीतिमा केन्द्रित हुनेछ।
दोश्रो सत्रमा ‘विदेशी लगानी, स्वदेशी प्रभाव’ अन्तर्गत नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) का उपाध्यक्ष रवि कुमार रायवरम, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, आध्यन्त फन्डका अध्यक्ष मनोज पौडेल र उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत सहभागी हुनेछन्। यो सत्रको संचालन सीए शेषमणि दाहालले गर्नेछन्। यो सत्रले नेपाललाई विश्वको लगानीको प्रतिस्पर्धी गन्तव्य बनाउने आधार तथा रणनीति प्रस्तुत गर्नेछ।
अन्त्यमा, समिटको आकर्षण रहेको छ ‘नेपालखबर संवाद’, जसमा ‘मिसन २०८४ः दोब्बर लगानी, दोब्बर रोजगारी’ मूल विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री डा मीनेन्द्र रिजालबीच प्रत्यक्ष संवाद हुनेछ।
एक घण्टा लामो यो सत्रमा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वमन्त्री रिजालबीच नेपालको अर्थराजनीति, भूअर्थनीति र लगानी वातावरणबारे खुला संवाद हुनेछ।
ग्लोबल आइएमई बैंकको प्रस्तुतीमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ नीति निर्माता, निजी क्षेत्र, र विकास साझेदारहरूबीच संवाद, विश्वास र समाधानको नयाँ धरातल तयार गर्ने उद्देश्य राखिएको एउटा प्लेटफार्म हो।
कार्यक्रममा विद्युतीय कार कम्पनी बीवाईडी एसोसिएट पार्टनर रहेको छ भने पोडवे नेपाल अर्को पार्टनर रहेको छ। त्यस्तै लाइफस्टाइल पार्टनर डर्मेडिक र इन्टरनेट पार्टनर सुबिसुका रहेका छन्।
नेपालखबरको वार्षिक प्रमुख सम्मेलनको रूपमा रहेको ‘राइजिङ नेपाल समिट’ले नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता र विकास साझेदारहरूबीच विश्वास, संवाद, र रणनीतिक सहकार्य प्रवर्धन गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपालखबर र यसका सामाजिक सञ्जाल प्लाटफर्महरूमा समिटको प्रत्यक्ष प्रसारण गरिनेछ।
Shares

प्रतिक्रिया