नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीको छलफल चाक्सीबारीमा जारी छ। विभिन्न समयको फरकमा भइरहने छलफलअन्तर्गत आज सोमबार नेता प्रकाशमान सिंहको निवासमा नेताहरू जुटेका हुन्।
दिउँसो २ बजेका लागि भनेर डाकिएको छलफल सवा ३ बजेमात्रै सुरु भएको थियो। छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी छन्।
यी नेताहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका छन्।
हाल छलफलमा जुटिरहेका नेताहरू सबै सभापति शेरबहादु देउवाकै समूहमा छन्। पार्टीको विधानअनुसार तेस्रोपटक सभापति लड्न नपाउने भएपछि शेरबहादुर देउवाले आफ्नो टिमबाट कसलाई अघि सार्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
यसबारे देउवा मौन बसेपछि गत फागुन २ गते आज छलफलमा जुटेकासहित ११ जना नेताले उनकै निवास बूढानीलकण्ठ पुगेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए।
त्यसयता छलफलमा जुटेका नेताहरू निरन्तर छलफलमा जुट्ने गरेका छन्। छलफलमा पार्टीभित्र र बाहिरको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षा हुने बताइएको छ।
Shares

प्रतिक्रिया