युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न फेर्न माग गर्दै बिहीबार (साउन १ गते) निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले निवेदनमा स्वतन्त्र शब्दले स्वतन्त्र उम्मेदवारहरूको अधिकार र पहिचान मेटाएको र उसको चुनाव चिह्न घण्टी हिन्दु धर्मावलम्बीको प्रतीक भएकाले त्यो कुनै दलले प्रयोग गर्न नपाउने दाबी गरेका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरूको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिरहरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरू स्वतन्त्र हो भनी भोट बटुल्ने जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोजेको, साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार, सिद्धान्त उद्देश्य नीति, कार्यक्रमहरूको आवश्यकता पर्ने गर्दछ। अत: राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन। पार्टी स्वतन्त्र हुन सक्दैन, पार्टीले आफ्ना कार्यक्रमहरू स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्रसमेत हुन सक्दैन। अत: तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु हुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु’, सफलले निवेदनमा लेखेका छन्, ‘त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्नको रूपमा प्रयोग गरेको भनिएको घण्टीसमेत दुईतिहाइ हिन्दुहरूको मूल्य-मान्यता आस्था विश्वाससँग जोडिएको छ। विशेषत: हिन्दु धर्मावलम्बीहरूले पूजापाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिह्न बनाउनु भनेको धार्मिक मान्यता, इतिहास बोकेको घण्टीको राजनीतिक दुरुपयोग हो। अत: राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी दुईतिहाइभन्दा बढी धर्मावलम्बीहरूको आस्था, विश्वासको केन्द्र रहेकोले त्यसरी कसैको आस्थामाथि प्रहार गरी घण्टीलाई चुनाव चिह्न दिन मिल्दैन।’

Shares

प्रतिक्रिया