ad ad

राजनीति


शिक्षा मन्त्रालयले बनायो कोरोना नियन्त्रणमा सघाउन पूर्वमन्त्रीको संयोजकत्वमा छुट्टै समिति

शिक्षा मन्त्रालयले बनायो कोरोना नियन्त्रणमा सघाउन पूर्वमन्त्रीको संयोजकत्वमा छुट्टै समिति

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ६:१३,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना नियन्त्रणमा  सहयाेग पुर्याउने उद्देश्यले पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय समिति गठन गरेको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको नेतृत्वमा विज्ञहरुसहितको समिति बनाएर अनुसन्धान कार्य अगाडि बढाएको हो।

सो समिति अन्तर्गत विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

स्वकीय सचिव केसीका अनुसार नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा शिक्षण विधि तथा विकल्प उपसमिति, नास्टका प्राज्ञ दिनेशराज भुजूको संयोजकत्वमा कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमिति, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको संयोजकत्वमा ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमिति, नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको संयोजकत्वमा अनुसन्धान उपसमिति, युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको संयोजकत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमिति र मन्त्रालयका विज्ञान सचिव सञ्‍जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको हो।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा संयोजक रहेको शिक्षण विधि तथा विकल्प उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने जिम्मा दिइएको छ भने नास्टका प्राज्ञ दिनेशराज भुजूको नेतृत्वमा रहेको कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमितिमालाई जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारीसम्बन्धमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको केसीले जानकारी दिए।

त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमितिले कोरोना परीक्षण, र्‍यापिड टेस्ट, डाइग्नोस्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तरलगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्नेछ भने नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छकोरोनासम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकललगायत विषयमा अनुसन्धान गर्ने जिम्मा पाएको छ।

युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमितिले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्सजस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ।

शिक्षा मन्त्रालयका विज्ञान सचिव सञ्‍जय शर्माको संयोजकत्वमा बनेृको नीति तथा वित्त उपसिमितिले बजेट, नीतिगत सुधार, संस्थाहरूबीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारणसम्बन्धी काम गर्नेछ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सक्रियतामा गठित समितिले एक सातादेखि ‘स्काइप’मा नियमित भिडियो संवाद गरिरहेको पनि मन्त्रीका स्वकीय सचिव पुरन केसी जानकारी दिए। उपसमितिहरूले मन्त्रालयलाई तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे सुझाव दिने केसीले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .