सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन्।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटोछरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने बताएका हुन्।
इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ।
उनले बार र बेन्चलाई व्यवस्थित बनाएर जाने प्रतिबद्धता पनि संसदीय समितिमा जनाए।
अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहने बताउँदै उनले न्यायिक सुशासन कायम गर्न सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।
उनले भने, ‘फरक मुद्दा व्यवस्थापन भनेको न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने, यसलाई थप पूर्वाधार चाहिन्छ, यो आइटीबेस्ड छ। आवश्यक पूर्वाधार छैन। सफ्टवेयर नभएका कुराहरू छन्। तर यसलाई सर्वोच्च अदालतमा पनि लागू गर्न जरुरी छ। यसलाई विस्तार गर्न सके न्यायपालिकाप्रति जुन अनास्था छ, जुन मुद्दा ढिलो भयो भन्ने, पूर्वानुमानयोग्य बनाउन यसले धेरै काम गर्दछ। त्यसको लागि म प्रयत्नशील रहनेछु। इजलासको बहसको समय व्यवस्थापन मेरो प्राथमिकतामा रहनेछ। मुद्दाको परिस्थितिअनुसार बहसको समय व्यवस्थापन गर्न, अनावश्यक पेसी स्थगनलाई निरुत्साहित गर्न, इजलासले सयम व्यवस्थापन गर्न, जटिल मुद्दामा बहसको माग गर्न बार एसोसिएसन लगायतका नियकासँग नियमित छलफल गर्न समय व्यवस्थापन गर्न म पहल गर्नेछु।’
प्रश्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फछ्र्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताउनु भयो । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
Shares

प्रतिक्रिया