साढे दुई महिनाअघि नेपालखबरसँगको अन्तर्वार्तामा सक्रिय राजनीतिमा फर्किने र एमालेका कार्यकर्ताहरूको माग अनुसार नेतृत्व लिने घोषणा गरेकी भण्डारीले शनिबार अन्ततः त्यसलाई औपचारिकता दिएकी छन्।
एक वर्षको देश दौडाहाको निचोडअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किएकी हुन्। शुक्रबार दिउँसोदेखि उनको पक्षमा सामाजिक सञ्जालमा व्यापक प्रचार भइरहेको थियो। निकटस्थहरू भण्डारीले मदन जयन्तीको अवसरमा विशेष घोषणा गर्ने बताएका थिए।
शनिबार (असार १४) भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनले गरेको ७४ औँ मदन जयन्तीको अवसरमा ‘जबजका तीन दशक’ विचार गोष्ठीमा करिब चार हजार एमाले नेता–कार्यकर्ताको उपस्थितिमा उनले एमालेमा सक्रिय हुने घोषणा गरिन्।
६४ वर्षे भण्डारीका लागि एमालेमै फर्किएर राजनीति गर्न सहज यसकारण छ– दिवगंत नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेको मार्गनिर्देशक सिद्धान्त हो। एमालेका सबैजसो नेता–कार्यकर्तामा मदन भण्डारीले गहिरो छाप छोडेका छन्। उनकै विरासत लिएर विद्या भण्डारीले पनि एमालेमै फेरि सक्रिय हुने र जबजलाई कार्यान्वयनमा लैजाने बताइन्।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्।
उनले एमाले राजनीतिलाई निरन्तरता दिने घोषणा गर्दा हलमा हुटिङ भएको थियो।
एमालेको भावी नेतृत्वमा मेरो नाम आइरहेको छ, कार्यकर्ताको सम्मानअनुसार म ‘रेडी’ छु : विद्या भण्डारी (भिडिओ)
२०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।
२०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछिको तीन महिना भण्डारी आफ्नै निवासमै एमाले नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन्।
२०८१ असार १४ गते उनी निवासबाट निस्केर काभ्रे जिल्ला पुगिन्। एमाले राजनीतिमा आफ्ना सम्भावना केलाउने नयाँ अध्यायको सुरुवात् गरिन्।
त्यसयताका एक वर्ष भण्डारी देशका धेरै जिल्ला पुगिसकेकी छन्। चीन लगायतका केही मुलुकको भ्रमण पनि गरिन्।
देशका विभिन्न जिल्ला र प्रदेश पुग्दा राजनीतिमा फर्कन भण्डारीलाई धेरैले सुझाव दिए।
एमालेका पदाधिकारीदेखि केन्द्रीय तहसम्मका नेताले पनि राजनीतिमा फर्किन अनुरोध गर्दै साथ दिने वचनले भण्डारी नहौसिने कुरै भएन। केही महिनाको जिल्ला र प्रदेशको स्थलगत रिर्पोटिङ, नेता तथा कार्यकर्ताहरूको सहयोग पाउने–नपाउने यकिन जानकारी लिएर भण्डारीले एमालेमा पाइला राखेकी छन्। र, यसपटक उनले सिधै नेतृत्वको लागि आफूलाई तयार पारेको संकेत पनि गरिन्।
महाधिवेशनको छेकोमा भण्डारीको ‘इन्ट्री’
एमालेले यसपटक महाधिवेशन चाँडै गर्दै छ। पार्टीका प्रकाशन तथा प्रचार विभाग प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, यही वर्षभित्र एघारौँ राष्ट्रिय महाधिवेशन गर्ने लक्ष्य छ। ढिलाइ भएमा ०८३ वैशाखमा पुग्न सक्छ।
नेतृत्व चयनका लागि हुने महाधिवेशनभन्दा अगाडि विधान महाधिवेशन हुँदै छ। आउँदो भदौ २०–२२ मा विधान महाधिवेशन तोकिएको छ। विधान महाधिवेशनको ६ महिनाभित्र नेतृत्व चयन गर्ने महाधिवेशन गरिसक्ने एमालेको योजना छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष
केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्षमा नवीकृत भइहाल्ने योजना बनाएका छन्। उनले आफ्ना लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि नलाग्ने तारतम्य मिलाएका छन्।
ठीक यही समय पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय भएको बताएकी छन्। त्यसका लागि उनले लामो राजनीतिक विरासतको पनि चर्चा गरिन्।
त्यसो त उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकै सामुन्ने एमालेमा सक्रिय भएको घोषणा गर्न चाहन्थिन्। ‘जबजको तीन दशक’ विचार गोष्ठीको प्रमुख अथिति पनि ओली नै थिए।
उद्घाटन मन्तव्यका क्रममा ओलीले मदन भण्डारीको ७४ औँ जन्मजयन्तीलाई लिएर केहीले विभिन्न आस र अपेक्षा गरेको बताए।
‘यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ भन्ने सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद, गोला पड्किनेवाला छैन। आस नगरे हुन्छ,’ ओलीले ठोकुवा गर्दै भने, ‘एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ।’
स्पेन जानुपर्ने भएकोले आफू बोलेर ओली हिँडिहाले।
अन्तिम वक्ताका रुपमा सम्बोधन गरेकी भण्डारीले राष्ट्रपतिको पदावधि सकिएको दुई वर्ष बढी भएको बताइन्।
‘यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु,’ उनले भनिन्, ‘सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व पूरा गर्न अब म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’
उनले मदन भण्डारीकै शब्दहरु सापटी लिएर अगाडि भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन।
व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु। राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्वसमेत बनाएका छन्।’
उनले एमालेमा विगतमा जस्तै साथ विश्वास पाउने अेपक्षा पनि राखिन्।
‘जबजको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ, यस्तो महत्त्वपूर्ण दायित्व पूरा गर्न एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु,’ उनले सम्बोधनमा भनिन्।
त्यसो त पूर्वराष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीति नगर्न केही नेताले सुझाव नदिएका होइनन्। एमालेभित्रै अध्यक्ष ओलीका अलावा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेता विद्यालाई एमालेभित्रकै असन्तुष्ट पंक्तिले उचालिरहेको बताउँथे। म्हासचिव शंकरले त विद्यालाई रोक्नुपर्ने भन्दै पार्टीको सचिवालय बैठकमा प्रस्ताव नै राखे, जुन निर्णयका रुपमा पारित हुन सकेन।
यसपटक भण्डारी रोकिइनन्। एमाले उपाध्यक्ष भइसकेकी उनी सदस्यता नवीकरण गरेर सबैभन्दा व्यवस्थित संगठन रहेको भनिएको एमालेमा उनी पुनः होमिएकी छन्।
११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी
भण्डारीको उद्घोषले एमालेको आगामी महाधिवेशनमा ओलीलाई चुनौती दिन विद्याको आगमन भएको प्रस्टै देखिएको छ। विद्यालाई आमन्त्रण गर्नेमा सबैभन्दा उच्च तहका नेता ईश्वर पोखरेल देखिएका छन्।
त्यसो त विद्याले आफू एमालेमा पुनः सक्रिय भएको भनेर घोषणा गर्दा मुकुन्द न्यौपाने, अमृतकुमार बोहरा, सुरेन्द्र पाण्डेलगायत कोअर्डिनेसन केन्द्रदेखि नै सक्रिय रहेका पाका नेताहरूलाई पनि साक्षी राखेकी थिइन्।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे विद्याको घोषणालाई महाधिवेशन सुरु भएको संकेतका रुपमा अर्थ्याउँछन्।
‘एमाले पार्टी भवसागर हो। विद्यादेवी भण्डारी आउँदैमा केही हुँदैन। एमालेमा पार्टीभित्र छलफल, बहस र नेतृत्व परिवर्तन भइरहेको छ। नेतृत्व फेरबदल हुँदा पनि पार्टी तलमाथि भएन। सबैभन्दा बढी नेतृत्व फेरबदल भइरहेको पार्टी एमाले हो,’ पाण्डेले नेपालखबरसँग भने,
‘आजबाट एमालेभित्र महाधिवेशन केन्द्रित भएर बहस छलफल हुन थाल्यो।’
उपाध्यक्ष पाण्डेले आगामी महाधिवेशनमा नेतृत्वका दुईजना दाबेदार प्रष्टसँग देखिएको बताए।
‘एमालेलाई नेतृत्व गर्ने कुरा उहाँ (विद्या भण्डारी)को भाषामा देखिन्छ। विधान महाधिवेशनदेखि राष्ट्रिय महाधिवेशनसम्म के होला? पूर्वराष्ट्रपति नेतृत्वमै आउन खोजेको देखिन्छ,’ पाण्डेले थपे, ‘त्यसो हुँदा नेतृत्वमा दुई जना हुने सम्भावना पनि भयो।’
‘भदौ २०–२२ मा विधान महाधिवेशन भएपछि त नजिकिसक्यो। पोलिटब्युरो बैठक २ गते, केन्द्रीय समिति बैठक ५ गते छ, त्यसले निर्णय गरेर पठाएपछि त यो गर्ने कि त्यो गर्ने बहस भइहाल्छ।’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा लोकतान्त्रिक पद्धति हराउँदै गएको भन्दै अब त्यसो नहुने बताए।
‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने, सत्ता हस्तान्तरण नगर्ने प्रवृत्ति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ। राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ।’
एमाले महासचिव शंकर पोखरेल भने सन्तुष्ट देखिएनन्।
‘हाम्रो पार्टी र नेतत्वका विरुद्ध अहिले जुन प्रकारको घेराबन्दी र आक्रमण भएको छ, यसका विरुद्ध कार्यकर्ता स्वाट्ट उत्रिन जरुरी छ,’ महासचिव पोखरेलले भने, ‘पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ।’
उनले पोखरा महानगरपालिका कमिटीले शनिबार नै आयोजित मदन जयन्तीसम्बन्धी कार्यक्रममा अवसरवादी तत्त्वहरुको सल्बलाहटका रुपमा अर्थ्याए।
Shares

प्रतिक्रिया