बहादुर शाहको २६९औँ जन्मजयन्तीका अवसरमा नौ जनालाई सम्मान गरिएको छ। योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उनीहरूले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
प्राडा उत्तमकृष्ण कर्माचार्य, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहका खेमराज सेढाइँ, क्याप्टेन कुलबहादुर लिम्बू, साहित्यकार प्रा मुकुन्द आचार्य, अन्तर्राष्टिय फूटबल खेलाडी विष्णुगोपाल श्रेष्ठ, १८ महापुराणका नेपाली भावानुवादक डा बद्री पोखरेल, समाजसेवी अनन्तप्रसाद धौभडेल, नेपाली सेनाका इञ्जिनीयर रथी अमर पन्त र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बहादुर शाहले नेपालको एकीकरणमा पुर्याएको योगदान बिर्सन नसकिने बताए। शाहले १० वर्षमा नेपालको सीमा पश्चिममा काँगडासम्म विस्तार गरेको उनले जानकारी दिए। यस्ता योद्धाको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गरिनुपर्नेमा नगर प्रमुख रिसालले जोड दिए।
परिषद्का अध्यक्ष शङ्कर पौडेल, कार्यक्रम संयोजक पद्मराज सुवेदी र सहसंयोजकद्वय नानिकाजी गिरी र दिवाकरविक्रम शाहलगायतक व्यक्तित्वले बहादुर शाहले नेपालको एकीकरणमा पुर्याएको योगदानलाई स्मरण गर्दै कार्यक्रम गरी स्रष्टा सम्मान गर्ने क्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए।
Shares

प्रतिक्रिया