संवैधानिक नियुक्ति विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरूबीच छलफल जारी छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छलफलमा जुटेका हुन्।
बिहान गोला प्रक्रिया सकेर इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश राउतले संवैधानिक नियुक्ति विवादका कागजात झिकाएका थिए। त्यसपछि सबै न्यायाधीश च्याम्बरमा छलफल गरिरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
आज सर्वोच्च अदालतमा ३ वटा संवैधानिक इजलास गठन भएका छन्।
तीमध्ये एउटा इजलासमा संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउने तोकिएको छ भने अर्को इजलासमा कोसी प्रदेशका कर्मचारीहरूको विवादमा निर्णय सुनाउने भनिएको छ।
अर्को संवैधानिक इजलासमा भने नियमित प्रकृतिका मुद्दाहरू छन्।
संवैधानिक नियुक्ति विवाद हेरिरहेको इजलासमा भएका केही न्यायाधीश अर्को इजलासमा छैनन्।
कोसी प्रदेशका कर्मचारीको विवादमा निर्णय सुनाउने र नियमित प्रकृतिका मुद्दा हेर्ने इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्।
Shares

प्रतिक्रिया