विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका हुन्।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। दिउँसो १ बजेका लागि डाकिएको बैठक ३:१५ बजेका लागि सरेको थियो। उक्त समयमा पनि बैठक बस्न सकेन त्यसपछि ५ बजेलाई सारिएको थियो।
बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। उनले बैठकमा गृहमन्त्रीले पनि पनि जवाफ दिन समय मागेको बताएका थिए।
'आज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नुपर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ। त्यसले गर्दा बसेर वातवारण बनाउनुस्। बल्ल कार्यक्रम अघि बढ्छ' उनले भने, 'माननीय सदस्यहरूले मान्नुहुन्छ भने म उहाँलाई समय दिन्छु। सभाको कारबाही अगाडि लैजानुपर्छ।'
Shares

प्रतिक्रिया