राजनीति


कांग्रेस र रास्वपाका नेताबीच एक घण्टा छलफल, के भयो कुरा?

कांग्रेस र रास्वपाका नेताबीच एक घण्टा छलफल, के भयो कुरा?

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ। आज बिहीबार संघीय संसद् भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए। त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। 

नेताहरूबीचको छलफल करिब एक घण्टा चलेको घिमिरेको भनाइ छ। 

'दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो। खास गरी उहाँहरूले उठाउँदै आउनु भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका बारेमा कुरा भयो,' उनले नेपालखबरसँग भने, 'हामीले यो विषय गृहमन्त्रीको राजीनामा दिनुपर्ने विषय होइन भनेर हामीले फेरि पनि दोहोर्‍यायौँ। एक घण्टाजतिको छलफलपछि उहाँहरू पार्टीमा छलफल गरेर थप निर्णय लिन्छौँ भनेर निस्किनु भयो।'

रास्वपाका नेताहरूले कांग्रेसका नेताहरूसँग छलफल नै नगर्ने किन भनेर गुनासो गरेपछि उपसभापति खड्का छलफलक वातावरण बनाउन तयार भएका थिए। त्यसपछि घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई छलफलको समयबारे जानकारी गराएका थिए। अर्यालले पार्टीका तर्फबाट छलफलका लागि वाग्ले र परियारलाई जिम्मा दिएका थिए।  

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि नेताहरूबीच छलफल भएको बताए। गृहमन्त्रीको राजीनामा मात्रै नभई मानव तस्करीको कुरा पनि भएकोले यसलाई गम्भीर हुन कांग्रेसलाई आग्रह गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad