राजनीति


३२ वर्षे उमेर हदले अखिलमा विवाद, यी हुन् भावी अध्यक्षका दाबेदार

महासचिव रोकाया भन्छन् : म्याच फिक्सिङ भयो, सिन्दूर हाल्ने बेला बिहे भाँडियो
३२ वर्षे उमेर हदले अखिलमा विवाद, यी हुन् भावी अध्यक्षका दाबेदार

सागर न्यौपाने
जेठ १६, २०८२ शुक्रबार २२:५, काठमाडौँ

भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने नेकपा एमालेको निर्णयबाट विद्यार्थी नेताहरू असन्तुष्ट बनेका छन्। राष्ट्रिय अधिवेशन आउन १३ दिन मात्र बाँकी हुँदा पार्टीले ३२ वर्षे उमेर हद लगाउने निर्णय गलत भन्दै उनीहरूले यसलाई सच्याउन माग गरेका छन्।

जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको भन्दै कार्यान्वयनका लागि सर्कुलर पठाएको छ। आफूलाई नेतृत्वमा आउन नदिन यो निर्णय गरिएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले दाबी गरे।

‘यो निर्णय अवैज्ञानिक छ। किनभने खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन गर्न मिल्दैन। यो त म्याच फिक्सिङ हो,’ रोकायाले नेपालखबरसँग भने, ‘यसले राम्रो सन्देश पनि जाँदैन। बिहे गर्ने जोडीले सिन्दूर हाल्ने बेलामा गोत्र के हो भनेर सोध्दा के हुन्छ? गोत्र मिल्दैन भनेर मण्डपबाट बिहे भाँडेको जस्तो भयो।’

एमालेका स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख  भानुभक्त ढकालले सोचविचार गरेर उमेर हद लगाउने निर्णय गरेको बताए। 

‘माओवादी, कांग्रेसले पनि लगाएका छन्। अखिलमा यसपटक बहस भएपछि पार्टीले संस्थागत रूपमा निर्णय गरेको जानकारी पाएको छु। कतिपयलाई एमालेले गरेको निर्णय म्याच फिक्सिङ लाग्छन्। पार्टीको निर्णय यही हो,’ ढकालले भने, ‘पार्टीको संस्थागत निर्णय मानेर अब विधि प्रक्रियाको छलफल राष्ट्रिय सम्मेलनमा गर्न पाउनुहुन्छ।’

तर, महासचिव रोकाया पार्टीले मिचाहा निर्णय गरेको  आरोप लगाउँछन्।

‘अघिल्लो पुस्ताका नेताले दोस्रो पुस्ताको उदय चाहँदैनन्, कतिपय नेताले अहिले आफूमुनि एसम्यान खोजेका छन्, हसबहादुर खोजी भएको हो। कमजोर नेतृत्व आयो भने आफ्नो इसारामा चलाउन सकिन्छ भन्ने मनोविज्ञान नेताहरूमा देखिन्छ, त्यही भएर उमेर हदको निर्णय लाद्न खोजिएको हो,’ उनले थपे। 

राष्ट्रिय महाधिवेशनको सबै प्रक्रिया टुंगो लागेर नेतृत्व चयन गर्न मात्र बाँकी रहेको बेला माउ पार्टीले दिएको निर्देशन  बेठिक भएको उनले बताए।

‘यो हस्तक्षेप हो, आफूले जित्ने अवस्था नदेखेपछि र मलाई रोक्ने कुनै उपाय नभएपछि अध्यक्ष समिक बडालसहितका केही साथीहरू यो अवस्थामा लाग्नुभयो। त्यो कुरामा पार्टीका केही नेताले बल गर्नुभयो। यो पराजित मानसिकताको उपज हो,’ रोकायाले थपे।

तर, अध्यक्ष समिक बडालले संगठनभित्र उमेर हदको बहस भइरहेको बताए।

‘विद्यार्थी संगठनमा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि पार्टीले एक्सन लिएको हो कि जस्तो लाग्छ,’ बडालले भने, ‘स्ववियु चुनावले गर्दा छुट्टै विधान महाधिवशेन गर्न सम्भव भएन। विधान महाधिवेशन र राष्ट्रिय अधिवेशन एकैपटक गर्नुपर्दा विद्यार्थीमा मनमुटाव नहोस् भनेर सहजीकरण भएको हो। उमेर हद तोकेपछि सहजीकरण हुन्छ भनेर होला।’

सबैभन्दा पुरानो विद्यार्थी संगठन अन्य संगठनभन्दा अगाडि हुनुपर्ने बडालको भनाइ छ। 

‘नेविसंघ र क्रान्तिकारीमा पनि ३२ वर्षे लगाइसकेको अवस्था छ। हामी त्यो भन्दा अग्रगामी हुनुपर्ने। त्यही समूहको विद्यार्थी नेतृत्व तयार गर्ने जिम्मेवारी हाम्रो पनि हो नि त। बुढा विद्यार्थी किन राख्नु?’ उनले भने।

अनेरास्ववियुको अध्यक्षका आकांक्षीलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला राख्न पाए हुन्थ्यो भन्नु स्वाभाविक भए पनि कतिपय अवस्थामा पार्टीको निर्णय मान्नुपर्ने उनी बताउँछन्।

‘म निर्वाचित भएर आएपछि केन्द्रीय समितिमा मनोनीत गर्न ३० वर्षे उमेर हद लगाइसकेका हौँ,’ बडाल थप्छन्, ‘अब पार्टीकै सचिवालयले उमेर हद लगायो। पहिला पनि पार्टीकै पदाधिकारीको निर्णयले १७ पदाधिकारी र १ सय ९९ सय केन्द्रीय समिति चयन गरेका हौँ।’

एमालेले यो निर्णय गर्नुको कारण उनले खुलाए।  

‘युवा संघमा ४० वर्षे उमेर हद छ। यदि उमेर हद नलाउने हो भने अनेरास्ववियुबाट बिदा भएर जाँदा युवा पनि नहुने भए। जबकि, पार्टीमा सबै तहमा ४० वर्षमुनिका युवाहरू १० प्रतिशत रहने भनेर निर्णय गरेको छ,’ बडालले भने। 

अनेरास्ववियुले संगठनका उपाध्यक्ष र महासचिवमध्येबाटै प्रतिस्पर्धा गरेरै अध्यक्ष चयन गर्दै आएको छ। तर, उमेर हद लगाइसकेपछि अब उपाध्यक्ष र महासचिव चुनाव लड्न पाउने छैनन्। रोकाया रुष्ट हुनुको कारण यही हो।

उमेर हद नलगाउन बहुमत सचिवालय सदस्य उभिएकै बेला पार्टीले हस्तक्षेप गरेको उनको भनाइ छ। 

राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समिति निर्माण भइसकेको, वैशाख २ र १३ गते सचिवालय बैठक बसेर गरिएको निर्णयमा उमेर हद उल्लेख नभएको रोकाया दाबी गर्छन्।

‘२० जना सचिवालयमध्ये ११ जना साथीहरू अहिले नगरौँ, अर्काे पटक गर्नुपर्छ, अहिले लगाउनु हुन्न, तल्ला संरचनाबाट लगाउनुपर्छ, तलबाट सानै उमेरमा परिपक्क बलियो नेता जन्माउनुपर्छ। तल्ला संरचनाको महत्वपूर्ण अनुभव गरेको मान्छेलाई मात्र संरचनाको नेता बनाउन सकिन्छ पछि गरौँ भन्नेमा उभिनुभयो,’ रोकायाले दाबी गरे, ‘अध्यक्ष समिकजी ४ जना उपाध्यक्ष र २ जना सचिवसहित ७ जना ३२ वर्षे लगाउनुपर्ने पक्षमा हुनुभयो। बाँकी केही साथीहरू तटस्थ रहनुभयो। तर, बहुमत लगाउनु हुन्न भन्ने पक्षमा भएकोले केही निर्णय भएन।’

अध्यक्ष बडालले पनि पार्टी महासचिव शंकर पोखरेलकै उपस्थितिमा राखिएको बैठकमा उमेर हद लगाउने कि नलगाउने भन्नेमा दुई मत आएको बताए।

यद्यपि, पार्टीले उमेर हद लगाएर जाँदा राम्रो हुन्छ भनेर यो निर्णय गरेको उनको भनाइ छ। 

अनेरास्ववियुमा बडालको २ वर्षे कार्यकाल फागुन ५ गते सकिएको हो। त्यही बेलामा महाधिवेशन गर्नुपर्ने भए पनि स्ववियु चुनावले रोकिएको उनी बताउँछन्। अब जेठको २५ देखि २८ सम्म तय भएको छ। विधान संशोधन गरेर उमेर हद राख्ने उनी बताउँछन्। 

अध्यक्ष केपी शर्मा ओलीको समर्थन पनि आफूलाई नै भएको रोकायाको दाबी छ। 

‘प्रधानमन्त्रीलाई मैले पछिल्लो डेढ महिनामा तीनपटक भेट्दा परिपक्क अनुभवी नेतृत्व चाहिन्छ, यो ठूलो संरचना हो, ३०/३२ वर्षमुनिको व्यक्तिले कुनै पनि संरचनाको नेतृत्व गर्न सक्दैन भन्नुभएको थियो,’ रोकाया भन्छन्, ‘तर संगठनकै केही पदाधिकारीले चुनाव हार्ने देखेपछि बलियोविरुद्ध कमजोरहरूको एकता गरेर मेरो राजनीति सिध्याउन खोजेको हो।’

उमेर हद जेठ ११ गतेको सचिवालय बैठकको एजेन्डामै नभएको उनको दाबी छ। त्यतिबेला एमालेकी सचिव पद्मा अर्यालले पनि अनेरास्ववियुको उमेरहदबारे अनौपचारिक छलफल मात्र भएको र निर्णय नभएको बताएकी थिइन्। 

‘हाम्रो आशा पार्टी अध्यक्षज्यूले यो निर्णय परिमार्जन गर्नुहुन्छ भन्ने छ। उमेर हद लाउने कि नलाउने भन्ने विषयमा हाम्रो महाधिवेशनको बन्द सत्रको हलमा प्रतिनिधिहरूलाई सार्वभौम अधिकार हुन्छ। प्रतिनिधिलाई छोडिदिनुपर्‍यो,’ उनले भने, ‘अस्तव्यस्तता चाहने हो भने त हतारहतारमा लगाए भयो।’

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी व्यवस्था बसाउन सुरू गरिएको बताउँछन्। 

‘कहिलेसम्म विद्यार्थी भइराख्ने? विद्यार्थी नेता हुन उमेर सीमा तोक्न आवश्यक थियो,’ उनले भने, ‘कोही व्यक्ति विशेषलाई रोक्नेगरी लक्षित हुनेगरी होइन, आमरूपमा सिस्टम बसाल्न हो। अन्यथा होइन, चर्चा त अनेक कोणबाट भइहाल्छ।’

पार्टीले उमेर हद लगाउने निर्णय पुनर्विचार नगरे नेतृत्वका प्रत्याशी रोकाया लगायतका केही उपाध्यक्ष बाहिरिनेछन्। त्यसो हुँदा अध्यक्ष बडाल र महासचिव रोकायाको छुट्टाछुट्टै उम्मेदवार हुने देखिन्छ। 

यस्तै, उपाध्यक्षहरूले पनि आफ्नै उम्मेदवार खडा गर्दैछन्। 

समिक बडाल पक्षले अहिलेका सचिव एवं प्रवक्ता प्रकाश पौडेललाई अघि सार्ने तयारी गरेका छन्। यस्तै, रोकायाले डा. सुजन कडरियालाई नेतृत्वमा उठाउने भएका छन्। एकदुईजना उपाध्यक्षको रोजाइमा दीपक धामी परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad