राजनीति


एमालेको भन्दा राजावादीको जुलुस ठूलो देखियो: शेखर कोइराला

एमालेको भन्दा राजावादीको जुलुस ठूलो देखियो: शेखर कोइराला

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीको प्रदर्शनलाई तुलना गर्दै टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले युवाहरूमा आएको नैराश्यताले गर्दा एमालेको भन्दा राजावादीको जुलुसमा धेरै मानिस सहभागी भएको बताएका हुन्। 

'राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसभन्दा एमालेको जुलुस किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरूमा नैराश्य छ । उनीहरूले बाटो खोजिरहेका छन्,' उनले भने, 'उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही चार जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ।' 

उनले सरकारले गरेका गलत कामलाई गलत भन्न नसक्दा पनि समस्या आएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उत्तेजित भएकैले आफूले गलत भनेको उनको भनाइ छ । उनले पार्टीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने सोचे पनि आफ्नोबारे चर्चा गरिएको प्रति आपत्ति जनाए ।

'मलाई त लागेको थियो, पदाधिकारीको बैठक यी विषय (प्रधानमन्त्रीको अभिव्यक्तिसहित)मा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ, हाँसो लाग्यो,' उनले भने, 'ठिकै छ, सहनुपर्छ। राजनीतिमा सहनशीलता हुनुपर्छ। हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ।'

ओलीले केही दिनअघि पार्टीको कार्यक्रममा जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्ने र त्यहीअनुसार तयारी गर्न भन्दै निर्देशन दिएका थिए।  नेता कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको पनि बताए।

'अब एकपटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु,' उनले भने, 'हामीले गलत काम नगरौँ, सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ। तर, गलत काम नगरौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad