सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया र सोसल मिडियामा आएकै आधारमा कसैमाथि अनुसन्धान र अभियोजन हुन नसक्ने बताएका छन्।
आइतबार बसेको एमाले सचिवालय बैठकपछि पत्रकारमाझ उपस्थित भएका उनलाई भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि नाम आइरहेकोबारे पत्रकारहरुले प्रश्न गरेका थिए।
‘कुनै पनि विषयमा अनुसन्धान गर्ने, अभियोजन गर्ने निकायहरु छन्,’ जवाफमा पोखरेलले भने, ‘हामी आमसंचार माध्यम वा सोसल मिडियाका माध्यमबाट अनुसन्धान, अभियोजन गर्ने हक राख्दैनौँ।’
उनले थपे, ‘राजनीतिक दलहरुले सुशासनको पक्षमा पैरवी गर्दछन्। अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन्। दोषी देखिएका कारबाही पर्छन्।’
यस विषयमा के भएको हो भन्ने विषयमा सम्बन्धित निकायले हेरिरहेकै होला भन्ने टिप्पणी पनि पोखरेलको छ।
‘सोसल मिडिया र आमसञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन,’ उनले भने, ‘आरोप मात्रैको विषयले सबै कुरा निर्धारण गर्दैन। के भएको हो भन्ने विषयमा सम्बन्धित निकायले हेरेकै होला।’
Shares

प्रतिक्रिया