राजनीति


तीनकुने घटनामा धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

राज्यविरुद्धको कसुरमा ५०, आपराधिक उपद्रवमा ११ र ८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा पनि
तीनकुने घटनामा धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

नेपालखबर
जेठ ११, २०८२ आइतबार १६:१०, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ। 

अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको शर्माले नेपालखबरलाई जानकारी दिए। चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ।

अरु ११ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा मात्रै र दुर्गा प्रसाईंसहित ८ जनालाई भने राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा प्रतिवादी बनाइएको छ।

चैत १५ गते राजावादीहरुले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।

यस्तै प्रदर्शनकारीहरुले त्यसदिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्‍याएका थिए। यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए।

त्यसैदिन बेलुकादेखि प्रहरीले पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको थियो।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा करिव डेढसय जनालाई पक्राउ गरेको भएपनि संलग्नता नदेखिएका र ठूलो कसुर नगरेकाहरुलाई छाडेको थियो। प्रहरीले बिहीबार १०८ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

तर सरकारी वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad