नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताए।
बिजुक्छेले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने समेत टिप्पणी गरे। ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन,’ उनले भने, ‘यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि। अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो। बिरोध भएर गयो। फेरि त्यो आयो भने फेरि जान्छ। बाँकी त रहँदैन नि।’
उनले थपे, ‘यदि त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाइँ हुन्छ देशमा। बन्दुक बाहेक अरु उपाय त जनताले मान्दैनन्। अफगानिस्तानमा पनि राजालाई पछि बोलाएको हो। गद्दीमा अब बस्दिन भन्यो। बस्नै सक्दैनन्। बरु अहिले हामीलाई डर छ कि पार्टीहरु झगडा गरेर एक दुई वटा नदीनाला बाँकी छ, त्यो नदेलान्। राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ। सकिन्छ। त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन।’
Shares

प्रतिक्रिया