नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) केन्द्रीय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ।
संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
‘समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको संघकी अध्यक्ष जयन्ती राईले जानकारी गराइन्।
जेठ ३ र ४ गते चल्ने उक्त सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरूको सहभागिता रहने उनले बताइन्। उनले सम्मेलनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जानकारी दिइन्।
उक्त सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
साथै, सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने संघले जनाएको छ।

प्रतिक्रिया