राजनीति


सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

नेपालखबर
जेठ १, २०८२ बिहिबार २०:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गरिने बताएका छन्।

थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहित प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गरे।

‘सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई म प्राथमिकतासाथ उठाउँछु,’ प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनका आयोजक संस्था साथसाथै फाउन्डेसनले तयार पारेको प्रतिवेदन बुझ्दै उनले भने।

शुक्रबारदेखि ३ दिनसम्म नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्न गइरहेको छ। त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले हिमालदेखि तराईसम्म जलवायु न्यायका लागि सरकार दृढ हुने धारणा राखेका हुन्।

जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले केही साताअघि हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गरेको थियो। वन तथा वातावरण मन्त्रालयसहित तीनै तहका सरकारसँगको सहकार्यमा भएको सम्मेलनले थामेको पुनर्स्थापना, परिपूरण र न्यायका लागि विभिन्न निष्कर्ष निकालेको थियो।

प्रतिवेदन बुझाउँदै साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपाललाई जलवायु न्याय दिलाउनका लागि अन्तर्राष्ट्रिय रूपमा पहलकदमी गर्न प्रधानमन्त्री ओलीले देखाएको तदारुकता प्रशंसनीय भएको बताइन्।  

थामे सम्मेलनलाई सरकारले सगरमाथा संवादको प्रि-इभेन्टको रुपमा मान्यता दिएको थियो। सगरमाथा संवादको पूर्वसन्ध्यामा उक्त सम्मेलन परिणाममुखी हुने भन्दै प्रधानमन्त्री ओलीले लिखित सन्देश समेत पठाएका थिए।

अध्यक्ष कार्कीको नेतृत्वमा भएको आरोही सम्मेलनमा कतारकी राजकुमारी आश्मा अल थामीसहित चर्चित सगरमाथा आरोही र जलवायु विज्ञ सहभागी भएका थिए।

थामेमा रक्षामन्त्री मानवीर राई र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसमेत सहभागी भएका थिए।

सम्मेलनले थामेसहित जलवायु पीडित खुम्बु क्षेत्रको न्यायमा केन्द्रित रहेर ५ बुँदे घोषणापत्र जारी गरेको थियो।

‘थामेमा गरिएको कार्यक्रम सगरमाथा संवादप्रति एउटा स्थानीय सहभागितासहितको सन्देश हो,  जुन नीतिगत संवादसँग जोडिएको छ। यसले के देखाउँछ भने कि जलवायु संकटको समाधान केवल सम्मेलनहरूमा होइन, स्थानीय स्तरमा पनि खोजिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

अध्यक्ष कार्कीले सरकार र समुदायबीच सेतु बन्ने उद्देश्यअनुसार थामेमा कार्यक्रम भएको र आगामी दिनमा समेत सरकारी नीति र जनताको आवाजलाई सँगसँगै अघि बढाउने गरी काम गर्ने त्यस क्रममा बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad