प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन्।
विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्वद्ध अखिल क्रान्तिकारी काठमाडौँ महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उदघाटन गर्दै पुनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताए।
पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरुप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे। जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले कांग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियु हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे।
‘जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ,’ उनले भने, ‘जेनजीको हातमा नेतृत्व जानु आफैंमा क्रान्ति हो। स्ववियूमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो।’
डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए। डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे।
‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो,’ उनले भने, ‘डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ। डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ। कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ। समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ।'
पुनले थपे, 'डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ। संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ।’
Shares

प्रतिक्रिया