नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्बाट छिटो पास गर्न माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि समेत व्यवस्था भइसकेकोले विधेयकलाई छिटो पास गर्नुपर्ने जिकिर गरे।
जोशीले भने, ‘त्यहाँ ७० बिघा जग्गामा ५३ वटा साना ठूला भवनहरु बनिसकेका एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि पनि सबै व्यवस्था भइसकेको र कार्यकारी लगायतका लागि बस्ने व्यवस्था भइसकेकोले यो विधेयकलाई चाँडोभन्दा चाँडो संसद्मा ल्याएर पास गरियोस् ।’
उनले विधेयकलाई प्राथमिकताका साथ कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग समेत गरे। गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय पनि भएको थियो। सोही दिन पारित गर्ने प्रस्ताव राख्ने तय भएको थियो। तर, मन्त्री पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो।
विधेयक ०८० असोज २१ गते मा राष्ट्रियसभामा दर्ता भएको थियो। राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।
Shares

प्रतिक्रिया