सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै शुरु भएको बताएका छन्।
बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नोटबाहेकका सबै छपाईका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताए।
जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ। पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनले स्पष्ट पारे।
उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रवन्ध भइसकेको छ। म्यान पावरको हिसावले प्रवन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ। अबदेखि यस्ता चिजहरु छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले शुरु गरिसकेको छ।’
मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया शुरु गरेको बताए। उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताए।
मन्त्री गुरुङले चलचिलत्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताए। चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरी राजश्व आर्जनको महत्वपूर्ण क्षेत्र बनाउने उनको भनाइ छ।
सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चत गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया