ग्लोबल


युद्ध कि शान्ति : पाकिस्तानको सबैभन्दा शक्तिशाली व्यक्तिले गर्नेछन् फैसला

आर्थिक हिसाबले भारत र पाकिस्तान दुवैलाई चाहिएको छैन युद्ध
युद्ध कि शान्ति : पाकिस्तानको सबैभन्दा शक्तिशाली व्यक्तिले गर्नेछन् फैसला

पाकिस्तानका सेनाप्रमुख जर्नेल सइद असिम मुनिर


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १६:२४,

भारतले पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेपछि यी दुई छिमेकीबीचको टकराव पूर्ण युद्धमा बदलिने हो कि भन्ने चिन्ता सर्वत्र छ। यो द्वन्द्व कति चर्किन्छ, त्यो भने धेरै हदसम्म एक व्यक्तिमा निर्भर हुने विश्लेषकहरूको भनाइ छ। उनलाई पाकिस्तानको सबैभन्दा शक्तिशाली व्यक्ति पनि भन्ने गरिन्छ।

ती व्यक्ति हुन्– पाकिस्तानका सेनाप्रमुख जर्नेल सइद असिम मुनिर।

पूर्व गुप्तचर प्रमुख मुनिर २०२२ मा सेनापति नियुक्त भएका थिए। भारतप्रति ‘हार्डलाइनर’ ठानिएका उनीमाथि भारतले पाकिस्तानको भित्री भागसम्म क्षेप्यास्त्र आक्रमण गरेपछि जवाफी कारबाही गर्नुपर्ने दबाब बढेको छ। भारतीय आक्रमणमा २६ जनाको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानको सत्ता सेनाको इसारामा नाच्ने गरेको आरोप लागिरहेका बेला मुनिर सेनाप्रमुख नियुक्त भएका थिए। हुन पनि पाकिस्तानमा हुने कूदेखि अदालतको फैसलासम्ममा सेनाको हात रहने गरेको बताइन्छ। 

‘मलाई लाग्छ, पाकिस्तानले बदला नलिने हो भने मुनिरको विश्वसनीयता र प्रभाव क्षय हुन्छ,’ अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका विश्लेषक माल्कोम डेभिस भन्छन्।

‘घरेलु राजनीति र पाकिस्तानी सेनाभित्रको ब्युरोक्रेसी अनि संगठनात्मक राजनीतिका लागि पनि पाकिस्तानले कसरी जवाफ देला भन्ने कुरा निर्धारण गर्न उनले प्रमुख भूमिका खेल्ने छन्,’ उनले थपे।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतीय आक्रमणको जवाफ दिने अधिकार सेनालाई दिने निर्णय गरिसकेको छ।

सैन्य विश्लेषक सेड्रिक लाइटनका अनुसार लामो समयदेखि पाकिस्तानको राजनीतिलाई चलाउँदै आएका सैन्य अधिकारीहरूको लामो सूचीमा मुनिर पनि थपिएका छन्। मुनिरले भारतसँगको द्वन्द्वलाई धर्मका नजरबाट हेर्ने र यसलाई राष्ट्रिय मुद्दाका रूपमा लिने उनको भनाइ छ।

‘आफूले मुलुकको आत्मसम्मान रक्षा गरिरहेको उनको विश्वास छ,’ लाइटन भन्छन्। 

अर्कोतिर भारतमा व्याप्त राष्ट्रवादी भावनाले द्वन्द्वको खतरा अझ बढाउन सक्ने उनी चेताउँछन्।

उसो त भारतले यो कदम चाल्दै छ भन्ने कुरा मुनिरलाई राम्रोसँग थाहा थियो। त्यही भएर नै पर्दापछाडि बसेर काम गर्न रुचाउने मुनिर पहलगाम आक्रमणपछि पर्दाअगाडि आएका थिए।

गत बिहीबार एक सैन्य अभ्यासका क्रममा मुनिरले भनेका थिए, ‘कुनै अस्पष्टता नरहोस्। भारतको कुनै पनि सैन्य दुस्साहसको द्रूत, दृढ र कठोर जवाफ दिइने छ।’

यद्यपि, आर्थिक हिसाबले भारत र पाकिस्तान दुवैलाई यतिबेला युद्धमा होमिनु लाभदायक छैन। त्यसैले नै उनीहरूले आफू द्वन्द्व चर्काउने पक्षमा नरहेको संकेत गरिरहेका छन्।

विश्लेषकहरूका अनुसार भारतले पाकिस्तानभित्रको निसाना छनोटमा पनि चलाखी देखाएको छ। आक्रमणका लागि उसले कुनै सैन्य ठेगाना रोजेन। र, पाकिस्तानको भित्री भागसम्म प्रहार गरेर कमजोरी पनि देखिन दिएन। 

‘मेरो नजरमा यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने भारतले निकै नापजोख गरेर प्रतिक्रिया दिएको छ। र, निसाना पनि आतंकवादी गतिविधिसँग सम्बन्धित छानेको छ,’ सोसाइटी फर पोलिसी स्टडिजका निर्देशक उदय भाष्कर बताउँछन्।

भारतले सीमा युद्ध नचाहनुका थुप्रै कारण छन्। जसले भारतको उदाउँदो अर्थतन्त्रको गतिलाई रोक्ने खतरा हुन्छ भने लगानीकर्ताको विश्वास र अमेरिकासँगको जारी व्यापार वार्तामा पनि धक्का पुर्‍याउन सक्छ।

पाकिस्तानका लागि त आर्थिक रूपले युद्ध निकै त्रासदीपूर्ण हुनसक्छ। यसै पनि अर्थतन्त्र निकै कमजोर अवस्थामा छ। आईएमएफले ७ अर्ब ऋण दिएर पाकिस्तानले अर्थतन्त्र चलाइरहेको छ। अब अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका बेला युद्ध हुनु उसका लागि दुर्भाग्यपूर्ण हुनसक्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad